एक जना महिला भान्सामा तरकारी काटी रहेकी थिइन अचानक चुलेसीले निकै गहिरोसँग उनको हात काट्यो । एक सुरले तरकारी काटीरहेको अवस्थामा अनायसै काटेको दर्दले उनि चिच्याईन र काटेको ठाउँमा हेर्दा निकै धेरै रगत वगीरहेको थियो । रगत वगाउदै, चिच्याउदै उनि नजिकै वैधखाना तिर लागिन र वैद्येले घाउ हेरे पछि तत्काल सिलाउन थाले । एक त काटेको पिडा त्यसमाथी विना कुनै र्दद निकवारक प्रत्यक्ष सिलाइले उनलाइ निकै पिडा भयो तर पनि रुदै वैद्यकहाँ आएकी उनि चुप चाप सहेर वसीन । यहाँ प्रश्न उठछ उनलाइ अकास्मात त्यत्रो पिडा र दर्द सहने क्षमता कसरी प्राप्त भयो ? के होला त्यो सहनको श्रोत ? औषधी खाए पछि सञ्चो हुन्छ भन्ने भविष्य प्रतिको विश्वास नै उनको सहन क्षमताको श्रोत हो । परापूर्वकाल देखी नै भविष्य प्रतिको आश र विश्वासले मानिसलाइ सञ्चो हुने र उत्साह जगाउने कार्य गर्दे आएको छ ।
स्वभावैले नेपाली समाज निकै उत्साहीत हो । यहाँको भौगोलीक तथा सामजीक वनौटमा नै उत्साह र उमंगका प्रशस्त श्रोतहरु छन तर पनि विगत केही दशक देखीको निरन्तर राजनीतिक अस्थिरता, सामाजिक द्धन्द्ध, राजनीतिक खिचातानी, सरकारी अपारदर्शीता, भ्रष्टचार, राजनीतिक तथा सामजीक विभेद जस्ता कुराहरुले सिंगो समाजमा निराशा वढीरहेको छ । जनतालाइ उत्साहीत वनाइ देशलाइ नयाँ विकासको वाटोमा अगाडी वढाउन सरकारले विगतको परमपरा भन्दा निकै अगाडी वढेर हाम्रा संभावना र चाहनामा आधारीत प्रगतीशिल र वैज्ञानिक नीति तथा कार्यक्रम ल्याउनु पर्दछ । नेपालको नयाँ भविष्य निर्माणको आधारशीला तयार गर्न निम्न अनुसारका प्रमुख पाँचवटा प्राथामिकताहरुको व्याख्या गर्ने प्रयास गरिएको छ ।
१. जनशक्ति विकास ः जनशक्ति बिकास कुनै पनि देशको पहिलो शर्त हो । विकसित जनशक्तिले मात्रै सामजीक सदभाव कायाम राख्दै विकासमा गुणस्तरीय सहभागीता जनाउन सक्दछ भने विकसित जनशक्ति भएको देशमा समानता, सम्मान, सदभाव, विकास र शान्ति हुन्छ । व्यहारीक, प्रयोगात्मक एवम् सिपमुलक शिक्षा यसका आधारहरु हुन । टर्की, सिंगापुर, मलेशीय, चीन, दक्षिण कोरीया यसका उदाहरणहरु हुन । प्रयाप्तमात्रमा प्राविधीक शिक्षालय, विश्वविद्यालयहरु, युवाहरुको आविष्कार जन्य अनुसन्धान केन्द्रहरुमा सहभागिता, नयाँ नयाँ आविष्कारको वातावरण यसका पूर्वशर्तहरु हुन । हाम्रो जति नै क्षेक्रफल र जनसंख्या भएका दुनियाका विकसित देशको तुलनामा हाम्रो देशमा विश्वविद्यालय, प्राविधीक विद्यालय अति न्यून छन । हाम्रो शिक्षा प्रणालीले आत्मनिर्भर वनाउनुको सट्टा परनिर्भर वनाइरहेको छ । प्रतिस्पर्धात्मक सस्कृतिको सट्टा चाकरी, चाप्लुसी र सिफारीश सँस्कृति मौलाएको छ । नेपालको आमुल रुपान्तरणको लागि वार्षिक करिव ४ लाख विधार्थीहरुलाइ पढाउन सकिने र सिमान्तकृत वर्ग र क्षेत्रको सहज पहुँचमा पुग्ने गरी करिव दुई हजार प्राविकधीक शिक्षालयहरु आवश्यक पर्दछन । एकछिन विचार गरौ ४ लाख दक्ष जनशक्ति नेपाली श्रम वजारमा वार्षिक रुपमा उपलव्ध हुँदा यहाँको कृषि उत्पादन, वन व्यवस्थापन, जडीवुटी व्यव्स्थापन, स्वास्थ्य क्षेत्रको गुणस्तर, निर्माण क्षेत्रको गुणस्तर, समाजीक संवाद, स्थानीय श्रोत र साधनमा आधारीत उद्यमशिलताको बिकास कति धेरै कायापलट भएको हुनेछ । यो जनशक्ति उत्पादन भएको वर्षदिनमा नै नेपाल कृषि उत्पादनमा आत्मनिर्भर हुनेछ । पर्यटकहरुको औसत दैनिक खर्च कम्तीमा पनि दुइगुणा वढेर जानेछ । रुघाखोकी र झाडा पोखालाले कसैले अकालमा ज्यान फाल्नु पर्दैन भने मध्यपूर्व र मलेशीया जाने लाइन अन्त हुनेछ । यसले सिगो नेपालको नयाँ पहिचानको जग वसाल्ने छ । प्राविधीक शिक्षालय ज्ञान र सिपमा मात्रै सिमित हुँदैन यो त श्रम गर्ने, आविष्कार गर्ने र श्रमलाइ सम्मान गर्ने सँस्कृति निर्माण गर्ने आधार पनि हो । जव समान रुपमा छोरा र छोरीहरु डाक्टर, इन्जिनीयर, वन, कृषि, खाद्यान्न, व्यवस्थापन प्राविधीकको रुपमा स्थापीत हुनेछन समाजमा जातीय तथा लैगिक विभेद अन्त हुनेछ । आरक्षणको वदलामा एउटा प्रतिस्पर्धी समाजको जग वस्नेछ ।
२. प्राकृति श्रोतको व्यवस्थापन ः नेपाल प्राकृतिक श्रोत र साधनले भरिपूर्ण देश हो । हामीलाई प्रयाप्तमात्रामा पुग्ने जमिन, जंगल, जल हामीसँग छ । जव मरुभमि जस्तो इजरायलले हाराभारा वनाएर उत्पादन गर्न सक्दछ भने हामीले हाम्रा हाराभारा हिमाल, पहाड तराइ मधेशललाइ हाराभारा वनाउन कीन सक्दैनौ ? जव हर युवाहरुसँग प्राविधीक ज्ञान र दक्षता हुन्छ तव उसले वैज्ञानीक पद्धतीले उत्पादन शुरु गर्दछ । जमीन, जंगल र जलको रचनात्मक रुपमा सदुपयोग हुन्छ । कृषि, वन र जलमा आधारीत लघु, मझौला र ठूला उद्योगहरु शुरु हुनेछन । रोजगारीको अवसर सिर्जना हुनेछन । कच्चा पदार्थको वदलामा प्रशोधित उत्पादनहरु विक्रि हुन थाल्दछ । हामीले आयात गर्ने वस्तुहरु प्रतिस्थापन हुन्छन भने विस्तारै हामी निर्यात गर्द थाल्नेछौ । नेपालीको औसत आयमा नाटकीय परिवर्तन आउनेछ ।
३. पूँजी निर्माण ः हाम्रो देश पूँजीको अभावमा गरिव भएको हैन । पूँजी परिचालनको अभावमा गरिव भएको हो । हाम्रै अनुभवले सिद्ध गरको छ जव सम्म जनशक्तिको विकास हुँदैन तव सम्म हाम्रो विकासको क्षमतामा अभिवृद्धि हुदैन । पूँजी निर्माणको लागी सरकारी पूँजीको सही सदुपयोगको लागि अहिलेको बिकास प्रसासनको क्षमता र संयन्त्रमा आमुल परिवर्तन ल्याउन आवश्यक छ । निजी क्षेत्रलाइ लघु उद्यम, मझौला र ठुला उद्योगहरु स्थापना गर्न अनुमति लिदा व्योहर्न पर्ने झन्झटीलो व्यवस्था र अदृश्य भेटी लिने परमपराको तुरन्त अन्त गरी निश्चित, पारदर्शि छरितो प्रकृया विकास गर्न पर्दछ ।
विशेषतः जल, कृषि, वन, पर्यटनमा आधारीत उद्यमहरुको विकास गर्ने रणनीति तर्जुमा गर्नु पर्दछ भने नेपाललाइ शैक्षिक गन्त्व्यको रुपमा बिकास गर्ने आधारशिला तयार गर्नु पर्दछ । नेपालमा अन्तराष्ट्रिय स्तरका विश्वविद्यालयहरु स्थापना गरी वौद्ध दर्शन, हिन्दु दर्शन, साहसीक पर्यटन, सूचना तथा प्रविधी व्यवस्थापन, जैविक विविधता व्यवस्थापन, समाजीक विविधता व्यवस्थापन, जलवायु परिवर्तन न्यूनिकरण तथा समायोजन, आर्युवेद, दर्शन जस्ता विषयमा उच्च शिक्षा अध्ययापन गराउने गन्त्वयको रुपमा विकास गर्ने आधारशिलन तयार गर्ने र माथि भनिएका विषयमा कम्तीमा पनि एक एक वटा विश्वविद्यालय स्थापना गरी अन्तराष्ट्रिय विद्यार्थीहरुलाइ आकर्षण गर्ने नीति लिनु पर्दछ । दुनियाका जुन सुकै देशमा भन्दा पनि नेपालमा तुलनात्मक रुपमा सस्तोमा शिक्षा प्रदान गर्न सन्छि । नेपालको प्राकृति सौन्दर्यले अन्तराष्ट्रिय विद्यार्थीहरुलाई आर्कषण गर्न सक्दछ । यदि हामीले उच्च गुणस्तरको शिक्षा प्रदान गर्ने साहस देखाउन सक्यौ भने नेपाल दुनियाका धेरै विद्यार्थीहरुको शैक्षिक गन्त्व्य वन्नेछ । हामी तयार भयौ भने हामी सक्षम पनि हुन्छौ ।
४. प्रविधी विकास ः वास्तवमा आज सबै भन्दा धरै धनराशी लगानी भएको र अझै वर्षौ सम्म लगानी रहिरहने क्षेत्र हो प्रविधी विकास । आधुनिक प्रविधीमा हामीले फड्को मार्न हामीलाइ थप केही समय लाग्नेछ तर यो सरकारले चाहयो र सोही मुताविकका नीति तथा कार्यक्रम तर्जुमा गर्न सक्यो भने नेपालले प्रविधी विकासमा चमत्कारीक विकास गर्न सक्दछ । नेपाल सरकारले प्रविधी विकासमा दुइ खम्वे रणनीति अपनाउनु पर्नेछ । एक नेपालको कृषि वन र यीनमा आधारीत उत्पादनको आधुनिकारण र अर्को सूचना तथा प्रविधी बिकासमा अन्तराट्रिय स्तरको प्रविधी बिकासको आधारशिला निर्माण । प्रविधी विकासमा भौगोलीक सिमाको कुनै महत्व रहदैन । विशेषतः एउटा सूचना प्रविधीको कम्पनी स्थापना गर्न अमेरीकामा नेपालमा भन्दा करिव १०० गुण वढी, भारतमा ५० गुण र चाइनामा ७० गुणा वढी लाग्दछ । यदि हामीले सूचना तथा प्रविधीका लगानीकर्ताहरुलाई आर्कषण गर्ने वातावरण तयार ग¥यौ भने नेपाल लगानीकर्ताहरुको गन्त्व्य वन्न सक्छ । जव देशमा प्रयाप्तमात्रामा प्रविधीको विकास हुने वातावरण वन्दछ र सवै नागरीकहरुको हातमा सिप हुनेछ अनुमान गरौ त देशको अवस्था कस्तो हुनेछ ।
५. सामाजिक तथा राजनीतिक विकास ः नेपाल एक वहुभाषिक, वहुधार्मिक, र वहुलवादी लोकतान्त्रिक मुलुक भएको हुनाले यहाँको विविधता नै यस देशको समृद्धिको आधार हो । समाजका राम्रा सामाजीक तथा साँस्कृति परमपरा र चालचलनहरुके सम्वर्धन गर्ने एक अर्का प्रति सम्मान र सदभावको प्रवर्धन गर्न स्थानीय स्तर देखी नै सामाजीक सदभाव समुहहरुको स्थापना तथा प्रवर्धन गर्नै संयन्त्रहरुको विकास गर्ने र यीनै संरचनाहरु मार्फत सामाजीक कुसंस्कार र कुरीतिका रुपमा रहेका वोक्सी, दाइजो प्रथा, छाउपडी, छुवाछुत, विभेद विरुद्ध सामाजीक अभियान छेडने अभियानको थालनी गर्न पर्दछ । स्थानीय स्तरका जनताहरुमा राजनीतिक अधिकारको पूर्ण ग्यारेन्टि गर्न र राजनीतिक सहभागीता वृद्धि गर्न राजनीतिमा निश्चित मापदण्डको प्रकृया शुरुवात गर्न पर्दछ भने सरकारी स्तरवाट नै किटान गरेर स्थानीय विद्यालय, वा क्याम्पस हरुको पहलमा वर्षमा निश्चित राजनीतिक अधिकार सम्वन्धि सचेतना र छलफल कार्यक्रमहरु गर्नु पर्दछ । यस्तो प्रकृयाले समाजमा नयाँ साँस्कृतिको निर्माण हुनेछ भने विद्यार्थीहरुले जिम्मेवारी, उत्तरदायित्व र राज्यले जनता प्रति गरेको व्यवहार र जनताले राज्य प्रति राखेका अपेक्षाहरु प्रत्यक्ष रुपमा जानाकारी पाउनेछन ।
यहाँ भनिएका कुनै पनि कुराहरु नयाँ हैनन र संसारका दुइतिहाइ भन्दा वढी देशहरुले यी कुराहरुलाई व्यवहारमा ल्याइनै सकेको छन भने कतिपय कुराहरु हाम्रो देशमा पनि प्रयोगमा छन । यहाँ केवल वढो जिम्मेवारी पुर्वक समग्र जनतालाई सहभागी गराउने गरी योजना वनाएर लागु गर्न आग्रह गरिएको छ । यो आगामी एकै वर्षमा हुन सक्दैन तर शुरु नगरी अन्त पनि हुदैन । हिमाल, पहाड, तराइ हामी सबैको चाहना समृद्ध, समावेशी र लोकतान्त्रिक नेपाल हो । हाम्रा सोच, चाहना र आकँछाहरुलाई यथार्थमा परिणत गर्न प्राथामीकताको सही पहिचान सहितको योजनावद्ध र ठोस कृयाकलापहरु चाहिन्छन । ती योजनाहरु र कृयाकलापहरुको तर्जुमा र कार्यान्वयनले नै जनतामा उत्साह र उमंग सञ्चार गर्दछन । जव सरकारले व्यापक जनतामा उत्साह र उमंगको सञ्चार गराउन सफल हुन्छ तव देश विकास सोचे भन्दा छिटो र द्रुत गतिमा हुन्छ । सबै जनताले आफ्ना छोरा छारीहरुले पनि सहजै डाक्टर इन्जिीनियर वा प्राविधीक विषय पढन पाउछन भन्ने थाहा पाउछ उसको उत्साह र उमंग कति वढछ होला ? प्राकृतिक श्रोत र साधनको व्यवस्थापनको लागि स्थानीय जनतालाइ विज्ञ वनाएर स्थानीय पूँजीनिर्माणमा सहभागीता गराइने अवसर श्रृजना गरेर, सामजीक तथा राजनीतिक विकासमा जनताको सहभागीता अनिवार्य गराइयो भने देश विकासको कार्यमा सरकारको नेतृत्वमा आफ्नो उत्साहवर्धक सहभागीतन जनाउनेछन र नेपालले सोचे भन्दा निकै छिटो समयमा विकासमा फडको मार्नेछ भन्ने कुरामा विश्वस्त हुन सकिन्छ । तर के हामी तयार छौ त जन उत्साह निर्माण गर्न ?
About The Author: Erips.nepal
More posts by erips.nepal