लोकतन्त्रीक चरित्र विहिन नेताको नेतृत्वमा लोकतन्त्र

जनताको व्यापक सहभागीता गरिने आवधीक निर्वाचनद्धारा निर्वाचित जनप्रतिनिधीहरुद्धारा शासन सत्ताको सञ्चालन गरिने प्रकृया लोकतन्त्र हो । यसमा वहुमतको सरकार र अल्पमतको प्रतिपक्ष हुन्छ । सरकारले जनप्रिय कार्यक्रमहरु सञ्चालन गर्दछ भने सरकारको स्वच्छेचारीताको प्रतिपक्षले खुलेर विरोध गर्दछ । यो यस्तो प्रकृया हो जहाँ देशका वालिग मताधिकारको आधारमा सवै जनताहरु सरकार सञ्चालनको प्रकृयामा सामेल हुन्छन ।

लोकतान्त्रिक व्यवस्थामा मावअधिकार, कानुनी शासन, पारदर्शिता, दण्डहिनता, समाजीक न्याय, विकास अधिकार आदि लोकतन्त्रका आधारभुत तत्वहरु हुन । लोकतन्त्र शब्द र कानुन मात्र होइन यो आचरण, व्यवहार र सँस्कार हो । लोकतान्त्रिक व्यवहार, आचारणले र सँस्कारले मात्रै लोकतन्त्र दिगो र दरिलो हुन्छ । नयाँ लोकतान्त्रिक देशहरुमा लोकतान्त्रि मूल्य मान्यताहरुको विकास गर्न, लोकतान्त्रिक आचरण, व्यवहार र सँस्कृति निर्माण गर्न तथा कानून र पद्धतीहरुलाई व्यवहारमा लागु गर्न नेतृत्व्को भुमिका अहम हुन्छ वा भनौ नेतृत्वको आचरण र व्यवहारले नैै देशको समग्र लोकतान्त्रिक पद्धतीलाई प्रभाव पार्दछ ।

संसारभरी नै लोकतन्त्रको प्रवर्धन र विकासको गति दुइवटा प्रकृयाले निर्धारण गर्दछ । पहिलो उच्च नेतृत्वको निगारानीमा नियम कानून, पद्धती एवम प्रकृयाहरुको कार्यान्वयनको कारण आम जनतालाइ प्रशिक्षित गर्ने र सोही मुताविकका आचरण, व्यवहार र सँस्कृतिलाई राजनीतिक साँस्कृतिमा रुपान्तरण गरेर आम समाजिक सँस्कृतिको निर्माण गरी जीवन पद्धती निर्माण गर्ने । अमेरीका, क्यानेडा, वेलायत, पश्चिम युरोपियन देशहरु, जापान, अष्टे«लिया, न्यूजिल्याण्ड, दक्षिण कोरिया आदि देशहरुमा यस प्रकारका लोकतान्त्रिक पद्धतीहरुले सिंगो समाजको जीवन पद्धतीलाई निर्धारण गरेको छ र उच्च पदस्थ र आम सर्वसाधरण जनताको वुझाइमा लोकतन्त्रको अर्थ र प्रतिफल समान रुपमा वितरण हुन्छ । यहाँ अत्याधिक जवाफदेही र जिम्मेवारी हर निकायमा प्रतिविम्वित हुन्छ । व्यक्तिको आकर्षण पद भन्दा पनि जिम्मेवारी प्रति वढी हुन्छ ।

दोश्रो प्रकारको परिवर्तन आम जनताको चाहना मुताविक हुन्छ । यस प्रकारको परिवर्तन प्रकृयामा नेतृत्वको चेतनाको स्तरभन्दा जनताको चेतनाको स्तर वढी हुन्छ तर चतुर नेतृत्वले आफ्नो फाइदा र वेफाइदाको आधारमा परिवर्तनलाइ स्विकारेको स्वांग गर्दछ र नेतृत्व हत्याउदछ । नेतृत्वमा आइसकेपछि उसको आचरण, व्यवहार र चरित्र पुरानै अपरिवर्तित अवस्थाको हुन्छ । सिंगो समाज र देशलाइ यथायिस्थितीमा नै राख्न चाहन्छ । नेतृत्वको व्यक्तिगत लाभ र हानीको आधारमा लोकतन्त्रलाई परिभाषित गरिन्छ र लोकतन्त्रका स्थापित मान्यता र मुल्यहरुलाइ आफुखुशी व्याख्या गरिन्छ । जनताले नेतृत्वको आचरण र व्यवहारमा आलोचना गरेमा लोकतन्त्र माथी आक्रमण भयो, लोकतन्त्र खतरामा छ जस्ता अफवाह फैलाउदछ ।

यस्तो मुलुकहरुका राजनीति अस्थिरता, भ्रष्टचार, कुशासन चरम रुपमा मौलाएर जान्छ । नेपाल लगायतका अति कम विकसित र अल्पविकसित देशहरुमा यस प्रकारका लोकतन्त्रको नमुना देख्न पाइन्छ । लोकतन्त्रलाई सम्वर्धन गर्ने प्रमुख सँस्थाहरुले नै लोकतन्त्रको खिल्लि उडाएका हुन्छन । शक्ति सन्तुलन र नियन्त्रणको नाममा नै लोकतन्लाइ अस्थिर र कमजोर वनाइन्छ । गाउँदेखी केन्द्र सम्म राजनीति पार्टीहरु, तीनका भातृ सँगठनहरु प्रमुखहरु र कर्मचारीहरुले नै राज्यसत्ताको दुरुप्रयोग गर्ने प्रयास गर्दछन । आन्तरीक लोकतन्त्रको अभावमा मनपरितन्त्र फष्टाउदछ र आम सर्वसाधरणमा नैराश्य र आक्रोस वढेर जान्छ र देशका शासन सत्ता सञ्चालन गर्ने सम्पुर्ण निकाय प्रतिकोे विश्वास टुटेर जान्छ । यो नै लोकतन्त्रको सवैभन्दा ठूलो चिरहरण हो । यस्तो अवस्थामा चेतनशील जनताहरु सँगठीत भएर असक्षम र अदुरदर्शी नेतृत्वलाई विस्थापित गर्नु लोकतन्त्र सुदृढीकरणको एक मात्र विकल्प हो ।

नेपाल जस्ता अतिकम विकसित देशहरुमा वारम्वार लोकतन्त्रको खिल्ली उडाउने नेतृत्व नै वारम्वार नेतृत्वमा नै रहिरहन्छ । राजनीतिकि पार्टीहरुमा सिमित वर्गका व्यक्तिहरुको पहुँच र नियन्त्रणमा रहने साँगठानीक खालके संयन्त्रले नेतृत्व र्निविकल्प रुपमा स्थापित हुन्छ र सबै लोकतान्त्रिक प्रकृयाहरु नेतृत्वकै वरीपरी घुमिरहन्छ जसले गर्दा सिँगो लोकतन्त्र नै नेतृत्वको फाइदा र वेफाइदासँग सम्वन्धित रहन जान्छ । राजनीतिक कार्यकर्ताहरुको न्यून राजनीतिक चेतना, अत्यन्त अवसरवादी सोच, राजनीतिक भविष्य प्रतिको असुरक्षा र सिमित राजनीतिक लाभका खातिर नेताहरु जति नै असक्षम भए पनि त्यहि नेतृत्वलाइ स्थापित गराउने कार्यकर्ताहरुमा रहेको दास मनस्थितीको होडकाजीका कारण पनि लोकतन्त्र फष्टाउन नसकेको हो ।

लोकतन्त्र एक वैज्ञानीक दृष्टिकोण हो भने उच्च प्रकारको राजनीतिक चरित्र, सँस्कार र व्यवहार हो । लोकतन्त्रभित्रको अन्तरनिहित मर्म वुझन नसक्ने नेतृत्वले लोकतन्त्रको सुदृढ गर्ने प्रक्रियाको नेतृत्व गर्न सक्दैनन । भुमण्डलीकरण र सुचना तथा सञ्चारको तिव्र विकास तथा लोकतनन्त्रिक देशहरुको शासन व्यवस्थाले ल्याएको तिव्र विकास, शान्ति, समृद्धि र समाजिक न्यायको सिकाइवाट प्रभावित भएर आम नेपाली जनताको लोकतन्त्र प्रतिको चाहना फष्टाएर गएपछि वाध्य भएर यहाँको नेतृत्व पनि लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्न तयार भयो तर जव लोकतन्त्रलाइ सँस्थागत गरेर नयाँ राजनीतिक आचरण, व्यवहार र सँस्कृति प्रदर्शन गर्न पर्ने थियो तर वारम्वार नेतृत्व असफल सिद्ध भयो । नेपालमा लोकतन्त्र असफल भएको होइन यसका नेतृत्व मात्र असफल भएको हो ।

लोकतन्त्रसँगसगै सवै संघ संस्थाहरु र निकायहरुमा लोकतान्त्रिक आचरणहरुको विकास पनि अपेक्षित नै थियो । तर खाली शासन सत्ताको अगाडीको नाम लोकतन्त्र राख्ने तर आम राजनीतिक सँस्कारको पुरानै सामन्तवादीकालीन सोच र शैलीले नेपालमा लोकतन्त्र सधै अलोकप्रिय र आलोचि रही रहयो । खराव राजनीतिक आचरण र सँस्कारले गर्दा नेपाली लोकतन्त्र निरन्तर रुपमा अस्थिर भयो र आक्रमणको सिकार भइरहेको छ । आफ्ना कमी कमजोरीहरु छोप्न र जनताको ध्यान अन्यत्र मोड्न नेताहरु वारम्वार लोकतन्त्रमा खतरा भएको वताउदछन तर २०४७ साल देखीकै लोकतन्त्रको इतिहासलाइ विश्लेषण गर्ने हो भने नेपालको लोकतन्त्र सिर्फ यहाँका लोकतान्त्रिक नेता भनाउदाहरुकै कारण अस्थिर भइरहेको छ ।

२०४७ सालमा अत्याधिक वहुमत प्राप्त नेपाली काँग्रेसको सरकार अन्य कसैको कारण संकटमा परेको होइन । लाखौ जनताको इच्छा र चाहनाका विपरित शयौ शहिदको वलिदानलाइ आफनो सत्ता स्वार्थको हितमा प्रयोग गर्न खोज्ने लोकतान्त्रिक नेताहरुकै कारण वहुमत प्राप्त सरकार असफलभ भएको थियो । त्यस पछि वनेको संवैधानिक अल्पमत सरकार जनताको विचमा लोकप्रिय हुदा हुदै पनि लोकतान्त्रिक नेताहरुकै कारण अपदस्थमा पर्यो भने प्रधानमन्त्रिको संवैधानीक अधिकार पनि संकटमा पर्यो । त्यसपछि अपवित्र गठवन्धनको शुरुवात भयो, मध्यरातमा लोकतन्त्रलाइ दरवारमा वुझाउने देखी प्रतिगमन आधा सच्चिदै गणतान्त्रिक समयमा प्रधानमन्त्रीको विशेषाधिकार कटौती, सरकारको कर्मचारी नियुक्ति गर्ने अधिकारमा प्रश्न चिन्ह देखी महाअभियोग काण्ड सम्म आइपुग्दा नेपालको लोकतन्त्रमा भएका श्रृखलावद्ध आक्रमणहरु न त कुनै विदेशी शक्तिको हात थियो न त कुनै अदृश्य शक्ति यो त विशेष रुपमा लोकतान्त्रिक मुल्य र मान्यतालाई नवुझेका र वुझेर पनि आत्मसात नगरेका नेताहरुकै कारण भएको हो ।

अन्य कुनै चमत्कार भएन भने आगामी संसदीय निर्वाचन र प्रान्तिय निर्वाचनमा पनि लोकतन्त्रको मुल्य र मान्यता नवुझेका वा आत्मसात गर्न नसकेका वा गर्न नचाहने जमातको नै नेतृत्वको वर्चश्व हुने संभावना देखिन्छ । हाल भएको स्थानीय तहको निर्वाचनवाट निर्वाचित जनप्रतिनिधीहरुको आचरण र व्यवहारले स्थानीय जनताहरुमा लोकतन्त्रिक मुल्य, मान्यता र आचरण सिकाउन सक्यो भने आगामी स्थानीय निर्वाचन तथा ततपश्चात हुने संसदिय निर्वाचनमा लोकतान्त्रिक चेतना, संस्कार र ज्ञान भएका व्यक्तिहरु नेतृत्वमा आउन सक्ने संभावना देखिन्छ । नेपालको संविधानले अगिंकार गरेको तीन तह मध्ये दुइतहको निर्वाचन नै यहाँको लोकतन्त्रको मुख्य आधार हो तर सत्ता स्वार्थले लिप्त नेपाली राजनेताहरु लोकतन्त्रको यही मुख्य काम वाहेका अन्य कुराहरु तिर तदारुकता देखाउदछन जसले गर्दा प्रान्तिय र संसदिय निर्वाचन नै अनिश्चित भएकोछ ।

सबै नेपाली जनताले वुझन पर्ने कुरा के हो भने आजको युगमा कसैले हाच्छीउ गर्दैमा देश तथा व्यवस्था संकटमा पर्दैन । देश र राजनीतिक व्यवस्थामा कोही पनि र्निविकल्प हुदैन । नेपालजस्तो राजनीतिक पार्टीहरु सँस्थागत रुपमा नै स्थापित भएको देशमा राजनीति तथा कर्मचारी तन्त्रमा भएका केही दालालहरुले जनताको वलिदानको वदलामा हक अधिकार र समानताको नाममा श्रीमती, साली र केही सिमित धुपौरेहरुलाई अवसर उपलब्ध गराउने कुपात्रहरु नेतृत्वका कलंकहुन र त्यस्ता कुपात्रहरुलाइ राजनीतिलगायतका सबै प्रकारका जिम्मेवारीवाट विदाइ गर्नु पर्दछ । त्यसकारण हाम्रो लोकतन्त्रलाई अन्य कुनै क्षेत्रवाट खतरा छैन । खतरा छ त केवल हाम्रा लोकतन्त्रको मर्म र अर्थ नवुझेका राजनीति नेताहरु तथा अलोकतान्त्रिक कर्मचारीहरुवाट मात्रै हो । लोकतन्त्र नेताहरु र कर्मचारीहरुको लागि मात्रै हैन यो हामी सबै जनताको लागि हो त्यसकारण संभावित चुनौती र खतराको सामना गर्नु पनि सबै जनताको दायित्व र कर्तव्य हो । वहुदलिय व्यवस्थामा व्यक्तिको दलमा आवद्धता अनिवार्यता हुन्छ र हुन पनि पर्दछ । सबै जना एउटै पार्टीमा आवद्ध हुन संभव नै हुदैन । त्यसकारण वहु पार्टी, वहुविचार अनिवार्य शर्तहरु हुन तर जव सम्म सबै पार्टीहरुमा एक से एक सक्षम लोकतान्त्रिक आचरण, सँस्कार र ज्ञान भएका नेताहरु स्थानयि तहदेखी नै निर्वाचित हुदैनन तव सम्म लोकतन्त्र फष्टाउन सक्दैन ।त्यसकारण सामन्य जनता, शिक्षित युवा समुदाय र पार्टीका कार्यकर्ताहरु सबैले आफू कसैको भरिया वन्नु भन्दा पनि सक्षम, योग्य, र विद्धवान नेतृत्व छनौट गर्ने साहस र हिम्मत गर्न सक्नु पर्दछ । जव एक भोटहाल्ने अवसर प्राप्त हुन्छ तव भोट हाल्नु भन्दा पहिला कस्तो उमेदवारलाइ भोट हाल्ने ध्यानपूर्वक निर्णय गर्नु पर्दछ । जव पार्टीहरुको महाधिवेशन आउछ कस्तो नेतालाइ जिताउने भन्ने उचित निर्णय गर्न सक्नु पर्दछ । स्वार्थ र लोभ वा नातागोता र जातीय आधारमा भोट हाल्ने अनि नेपालमा लोकतन्त्र फाप्दैन भन्नु पागलपन हो । यदि देश युवाले वनाउदछन भन्ने हो भने पार्टीको महाधिवेशन होस वा संसदिय निर्वाचन एक भोट शिक्षित र सक्षम युवा नेतालाइ हाल्ने हिम्मत गर्नु पर्दछ । हामी सर्वसाधरणको तर्फवाट लोकतन्त्र सम्वर्धन गर्ने एक मात्र योगदान त्यही हो ।