करिव ६५ वर्ष अगाडी आफनो हातले आफनो संविधान लेखेर स्वशासित हुने सपना २०७२ सालमा पुरा भयो भने १५ वर्ष अगाडी देखी प्रतिक्षा गरको स्थानीय तहको निर्वाचन यही वैशाख ३१ र ज्येष्ठ ३१ गरेर पुरा हुदैछ । राजनीतिक रुपमा हेर्ने हो भने यी दुवै सकारात्मक रुपान्तरणका उदाहरणहरु हुन । नेपालको संविधान २०७२ ले नेपाललाई राजनीतिक रुपमा रुपान्तरण गरेर राजतन्त्रात्मक केन्द्रकृत राज्य प्रणालीवाट संघिय लोकतान्त्रिक गणतन्त्रलाई सँस्थागत बनाएकोछ । यस सँगसगै देशको राजनीति प्रणाली पनि केन्द्र, प्रदेश र स्थानीय तहमा पुनः संरचित भएको छ । यस अगाडीका गाउँ विकास समिति र नगरपालिकाहरु केन्द्रका अधिनस्थ हुन्थे भने संविधान २०७२ ले स्थानीय निकायहरुलाई अधिार सम्पन्न स्वायत्त निकायको रुपमा स्थापित गरेको छ । संविधानले परिकल्पना गरेको अधिकारहरु अव हुने निर्वाचन मार्फत वन्ने स्थानीय सरकारले सदुपयोग गरी जनताहरुलाई अधिकतम सेवा र सुविधा प्रदान गर्नेछ । साना साना कुराहरुको लागि पनि जिल्ला सदरमुकाम र केन्द्रमा धाउनु पर्ने अवस्थाको अन्त गर्दै स्थानीय तहकै कार्यालयहरुवाट सेवा सुविधा प्रदान गर्ने र स्थानीय सरकारलाइ जनताप्रति उत्तरदायी वनाउने व्यवस्था गरेको छ ।

विगत साक्षी छ, नियम, कानून, नीति र कार्यक्रमहरु जति राम्रा भएपनि जनताले सरकारवाट के कति सेवा र सुविधा पाउने भन्ने कुरा त ती कानून, नियम, निती र कार्यक्रमहरु कार्यान्वयन गर्ने व्यक्तिहरुको चेतना, क्षमता, योग्यता र चाहनामा भर पर्दछ । यदि जिम्मेवार व्यक्तिहरु नै असक्षम, अज्ञानी, लोभि, पक्षपाती भए भने त्यो नगरपालीका वा गाउपालीका जनताहरुको विकासको चाहना कदापी पुरा हुदैन । एक जना सक्षम, इमान्दार र कर्मठ जनप्रतिधि हुनु भनेको त्यस नगरपालिका वा गाउँपालीकाको आर्थिक तथा समाजिक विकासमा कायाकल्प हुनु हो । त्यसकारण एक भोट हाल्नु भन्दा पहिला हजारौ पटक सोच्नु पर्दछ ।

यो निर्वाचनमा भोट हाल्ने कुरा केवल ५ वर्षको लागि होइन यो त आफू र आफ्ना सन्ततीको भविष्य सम्मको लागि जोडिएको कुरा हो । खासगरी नेपाल जस्तो वहुदलीय व्यवस्था भएको देशमा सबै जनता कुनै कुनै पार्टीमा आवद्ध भएकै हुन्छन र जनताको त्यही आवद्धताको आधारमा राजनीतिक पार्टीहरु आफ्नो क्षमताको आँकलन गर्दछन । अहिले नेपालमा भएका पार्टीहरुको नीति, कार्यक्रम र सत्ता प्राप्ती पश्चातका उनिहरुको व्यवहारलाई सूक्ष्म तरिकाले अध्ययन गर्ने हो कुनै तात्वीक फरक देखिदैन । कोही कोही पात्रहरु जस्तै गोकर्ण विष्ठ एमाले, लालवावु पण्डित एमाले, रेखा शर्मा एमाओवादी, जर्नादन शर्मा एमाओवादी, टेक वहादुर गूरुड. नेपाली काँग्रेस, गगन थापा नेपाली काँग्रेस जस्ता केही व्यक्तिहरुले गरेका सकारात्मक काम कुनै पार्टी विशेषको कारणले होइन की व्यक्तिको व्यक्तिगत चाहना, जनताप्रतिको उत्तरदायित्व, कर्तव्य र निष्ठाको कारण भएका हुन । त्यसकारण स्थानीय निकायमा जनशक्ति, श्रोत र साधनको सिमितता हुने भएको हुँदा व्यक्तिको योग्यता, क्षमता, ज्ञान, निष्ठा र कर्तव्यवोध जस्ता कुराहरु निकै नै महत्वपूर्ण हुन्छन ।

हामी आज एक्काइसौ शताब्दीमा छौ भनेर भन्ने गरे पनि हाम्रो देशमा दुई प्रकारका सोच, योग्यता र क्षमताहरु छन । हाम्रो पाको पुस्ता जो अहिलेको राजनीति, कर्मचारीतन्त्र र नागरीक समाजको नेतृत्व गरिरहेको छ उनिहरु शितयुद्धकालिन औधोगिक क्रान्तिको चेतनाको स्तरमा छन । वर्तमान २१ औ शताब्दीका विज्ञान, सूचना तथा प्रविधीको आविष्कार, चमत्कार र सेवा सुविधाले सर्वसाधरण जनतामा पार्ने सकारात्मक प्रभावको वारेमा यो पुस्ता वेखवर छ । यो पुस्ताले आधुनिक विकासलाइ न त वुझेको छ न त द्रुत विकासको नेतृत्व गर्ने साहस, योग्यता र क्षमता नै छ । तर विडम्वना नै भन्नु पर्दछ देशको हर क्षेत्रमा यही पुस्ताको वर्चश्व छ । अहिलेको निर्वाचनमा पनि यही पुस्ताले अत्याधीक गाउँ पालिका र नगरपालिकाहरुको नेतृत्वमा कब्जा जमाएको छ ।

यसको ठीक विपरीत आधुनिक संसारसँग प्रतिस्पर्धा गरेर अग्रभागमा आफ्नो स्थान सुरक्षित गर्न सक्ने उदीयमान युवा पुस्ता जो राजनीति, कर्मचारी, व्यवसाय, नागरीक समाज सबैठाउँमा आफनो स्थान वनाउन संघर्षरत छ र देशका विभिन्न क्षेत्रमा चमत्कारीक र उदाहरणीय काम गरेर संसारलाइ चकित वनाउदैछ । यो पुस्ता स्थानीय तह देखी केन्द्र सम्म उपयुक्त वातावरणको अभावमा तिव्र रुपमा विदेश पलायन भइरहेको छ र विदेशमा रहेर पनि अत्यन्तै दक्षतापूर्वक हर क्षेत्रमा जिम्मेवारी निर्वाह गरिरहेको छ । उनिहरुले विदेशवाट पठाएको विप्रेषणमा नै यहाँको पाको पुस्ताले हालीमुहाली गरिरहेको छ । अहिले हुन गइरहेको निर्वाचन यथास्थितीमा क्रमभंग गरेर युवा शक्तिलाइ नेपाली राजनीतिमा स्थापीत गराउन नयाँ परिस्थिती निर्माण गर्ने अमुल्य अवसर हो । निर्वाचनको पुर्व सन्ध्यामा आज सवैले एकपटक आफ्नो जात, पार्टी, व्यवसाय र धर्म भन्दा माथी उठेर सोच्नु पर्दछ र एक भोट सक्षम, योग्य, इमान्दार र कर्मठ व्यक्तिलाई हाल्न सक्नु पर्दछ । भोट हाल्दा हामीले के भुल्नु हुदैन भने हामीले जसलाइ भोट हाले पनि हाल्ने नेपालीलाइ नै हो त्यसकारण यो मेरो पार्टीको वा अर्काको पार्टीको भन्दा पनि जुन सुकै पार्टीको भए पनि इमान्दार, दक्ष र क्षमता भएको युवा उमेदवारलाइ नै जिताउनु पर्दछ । एकजना नेता इमान्दार, दक्ष र कर्तव्यनिष्ठ भयो भने त्यो ठाउँको विकासमा के कस्तो प्रभाव पर्दछ भन्ने कुरा सिंगापुर, मलेशीया, दक्षिण कोरीया, थाइल्याण्ड, भियतनाम, कम्वोडीया जस्ता देश तथा छिमेकी देशको विहार र राजस्थानको विकासवाट प्रमाणीत हुन्छ ।

जव हामी स्थानीय तह देखी नै सक्षम, योग्य, इमान्दार र कर्मठ नेतृत्व छान्ने अभ्यास गर्दछौ तव मात्रै हामी प्रदेश र केन्द्रमा पनि शिक्षित, कर्मठ र इमान्दार नेतृत्व छान्न सक्दछौ र निकै छोटो समयमा देशलाइ रुपान्तरण गर्न सक्दछौ । हामीले मनन गर्न पर्ने कुरा के हो भने विगतमा हामीले सक्षम, इमान्दार योग्य नेतृत्व चयन गर्न नसक्दा, हाम्रो शैक्षिक प्रणाली वैज्ञानीक र प्रतिस्पर्धी हुन सकेन जसले गर्दा राजनीतिक रुपमा हाम्रो नतृत्व कुशासन, भ्रष्टचार, असक्षम र अयोग्य त छदै थियो, कर्मचारीतन्त्र पनि त्यस्तै भयो । देशको विकास बजेटको ८० प्रतिशत रकम खर्च गर्न नसक्ने नेतृत्व छ यो देशको । यदि स्थानीय तह पनि यहि नियतको शिकार भयो भने हाम्रो समृद्ध हुने सपना केवल सपना मात्रै रहने छ । त्यसकारण वेला छदै हामीले ठण्डा दिमागले सोचेर सही निर्णय गर्न सक्यौ भने हाम्रो एक भोटले देश विकासमा ठुलो योगदान दिन सक्नेछ ।

देशका सवै भोटहाल्नेहरुले वुझनु पर्दछ एक्काइसौ शताब्दीमा समृद्धि भनेको शारीरिक परिश्रमवाट होइन यो त सोच, दक्षता र प्रविधीको विकासवाट हुने हो त्यसकारण २४० वर्षको इतिहासमा हाम्रो देशको शून्य दशमलव एक प्रतिशत जनसंख्यालाई पनि वैज्ञानीक वनाउन सकेको छैनौ जव सम्म हामीले वैज्ञानीक आविष्कार गरेर नयाँ नयाँ कुराहरुको सिर्जना गर्न सक्दैनौ तव सम्म हाम्रो विकास संभव छैन । यदि हामीले हाम्रा युवाहरुलाइ वैज्ञानीक हुने वातावरण निर्माण गर्न सक्यौ भने हाम्रो अर्थतन्त्रमा आमुल रुपान्तरण हुनुको साथै हाम्रो देशको मान सम्मानमा पनि आमुल रुपान्तरण हुनेछ । एकछिन अनुमान गरौ त, के हुन्थ्यो होला यदि हर १० जना युवाहरुमा ७ जना वैज्ञानीक हुने र संसारको निकै महत्वपूर्ण प्रविधीको पेटेन्ट राइट हाम्रा वैज्ञानीकहरुसँग हुन्थ्यो भने । अनि त्यतिवेला छिमेकीले नाकावन्दी लगाउनु त परको कुरा हाम्रा राष्ट्र र सरकार प्रमुख छिमेकी देशहरुमा जादा त्यस देशका प्रमुख र सरकार प्रमुख विमानस्थलमा स्वागत गर्न त आउथे नै उनिहरुको देशमा पनि सार्वजानीक विदा दिन्थे । हाम्रा विदेशमा काम गर्ने हर नेपाली नागरीकलाइ उच्चसम्मान र आदारको साथ व्यवहार गर्दथे । त्यसकारण हामीले के बुझ्न जरुरी छ भने हाम्रो देशलाइ अरु कसैले गरिव वनाएको नै होइन हरेक निर्वाचनमा हामीले जात, पार्टी, क्षेत्र, लिंग आदीको नाममा अत्यन्तै फटाहा, लुच्चा, असक्षम, अज्ञानी लठैतहरुलाई वारम्वार छानेर पठाएर नै हामी आजसम्म गरिव र दरिद्र देशको रुपमा चित्रित भएका छौ । त्यसकारण गरिवी हुनमा दोष अरुलाई नदिउ, गहिरिएर सोचौ फेरी यस पटक पनि छनौट हाम्रै हो । पार्टी, जात, नाता र क्षेत्रको सिमित घेरमा रमाउनेकी योग्य, सक्षम र दक्ष उमेदवार रोज्ने ?

वारम्वार हामीलाइ लुटी रहन,े अत्यन्तै असक्षम, यथास्थितीमा रमाउने पुरानै पुस्ता वा संसारका जोसुकैसँग प्रतिस्र्धा गर्न सक्ने र जस्तो सुकै परिस्थितीसँग जुध्न सक्ने युवा पुस्तालाई छान्ने ? रोजाइ हामी मतदाताको नै हो । स्मरण रहोस एक भोट इमान्दार र सक्षम व्यक्तिलाइ हाल्न हिचकिचाउने तर देश विकास भएन, नेताले देश विगारे भनेर विहान चिया पसलमा र वेलुका भट्टीमा वकवकाउनुको कुनै अर्थ रहदैन त्यो केवल पागलपन मात्रै हुनेछ । यो समय भावनामा वगेर म यो पार्टीको कर्मठ र प्रतिवद्ध कार्यकर्ता हुँ भनेर जस्तो सुकै उमेदवारलाइ भोट हाल्ने वेला होइन, यो त घरमा भएका जवान छोरा छोरी, भर्खर जन्मेका नाती नातीनी, वुढेसकालका वृद्ध वा आमा, भरे भोली भएका हजुर वा हजुर आमा सबैको लागि हित गर्न सक्ने समाज, देश र जनताको हितको लागि रक्षा गर्न सक्ने कर्मठ, इमान्दार र योग्य उमेदवारलाइ एक भोट हाल्ने साहस देखाउने वेला हो । याद गर्नुहोस यदि यस्तो गर्न सकियो भने मात्रै हामीले हाम्रो देशको सार्वभौमिकताको रक्षा गर्न सक्दछौ । परिवारको दुई छाक टार्न र नांगो हर ढाक्न मलेशीया र मध्यपूर्वमा हाडछाला घोटेर काम गर्ने दाजु भाई दिदि वहिनीहरुलाई ससम्मान देशमा वोलाएर रोजगारको व्यवस्था गर्न सक्दछौ । निर्णय हाम्रै हो हाम्रालाइ की राम्रालाई ?

 

Facebook Comments