यतिवेला नेपाल कम्युनिष्टमय भएको छ । राष्टपति देखी मतदाता सम्म सबै कम्युनिष्ट छन । गैरकम्युनिष्ट सरकार भएको प्रदेश नं २ पनि कम्युनिष्टहरु भन्दा वढी क्रान्तिकारी र परिवर्तनशीलताको दावी गर्नेहरुको नेतृत्वमा सरकार छ । यस अर्थमा गरिवी, अभाव, र पछौटेपनले ग्रसित हाम्रो देशले आमुल परिवर्तनकामीहरुको नेतृत्व प्राप्त गरेको छ । कम्युनिष्टपार्टीहरु र मधेशवादी पार्टीहरुलाइ भोटहाल्ने जनताहरु उत्साह र उमंग सहित आमुल परिवर्तनको पर्खाइमा छन भने गैर कम्युनिष्टलाइ भोट हाल्नेहरु पनि अव भने नेपालमा केही हुन्छ भन्ने कुरामा आश गरिरहेका छन । यसरी देभरी नै आशा, उत्साह र उमंगको सञ्चार हुनु नै रुपान्तरणको पूर्व शर्त हो । यस्तै उत्साह र उमंग २०४६ को परिवर्तन पछि थियो तर असक्षम राजनीतिक नेतृत्वले राजनीतिक प्रतिफल आफु, आफना आसेपासे, धुपौरे भरौटे हरुको मुनाफामा केन्द्रित गराउने र समग्र पद्धतीलाइ वंशीय र नश्लीय प्रणालीमा ढाल्दा केही वर्ष भित्रमा नै निराशा सञ्चार भएको थियो ।

विगतमा विकासको लागि अर्थ, जनशक्ति र वस्तुलाई अति आवश्यक श्रोतहरु हुन भनिन्थ्यो तर आधुनिक युगमा उत्प्रेरणा वा आशा सबै भन्दा महत्वपूर्ण श्रोतको रुपमा मानिन्छ । यस अर्थमा वर्तमान सरकारका लागि देशभरमा सञ्चार भएको उत्साह र उमंग अग्रगामी सकारात्मक रुपान्तरणको महत्वपूर्ण श्रोत हो । देशमा अर्थ, जनशक्ति, वस्तु र उत्प्रेरणा सवै श्रोतहरुको प्रयाप्त उपलब्धताले सिर्जना गरेका अवसरहरुलाई व्यवहारमा रुपान्तरण गर्नु यो सरकार र यससँग सम्वद्ध पार्टीहरुको पहिलो दायित्व हो । अव विकास हुने की नहुने भन्ने प्रश्न नै होइन, प्रश्न त विकास गर्ने की नगर्ने भन्ने हो । यो सरकार र प्रधानमन्त्री र वहाँको पार्टीको इच्छा शक्तिको कुरा हो । वर्तमान सरकारका सामुन्ने दुइवटा अवस्था छन । यी दुवै अवस्थमा जुनलाइ समाते पनि सरकारले कार्यकाल पुरा गर्नेछ । एक, सरकार भनेको नियमीत प्रकृया हो र यसले विगतकै परमपराको निरन्तरता दिदै पुराना सरकारले जस्तै नियमीत कार्य गरेर ५ वर्ष विताउने हो भन्ने तरीकारले सरकार सञ्चालन गर्नु । अर्को, यो जिन्दगीको सवै भन्दा महत्वपूर्ण अवसर हो र यसै सरकारले नयाँ नेपालको खाका कोर्नु पर्दछ भन्ने मान्यताका साथ सरकार सञ्चालन गर्ने । जसरी सूर्य प्रत्येक दिन उदाउन र अस्ताउन पाउदा रमाउदछ त्यसै गरी सूर्य चुनाव चिन्हवाट जितेका र अव सूर्यलाई नै स्विकार गरेकाहरुले पनि शुसासन, जवाफदेहीता र जिम्मेवारीलाइ हर सेकेण्ड, मिनेट, घण्टा र दिनमा निभाउन पाउनु अहोभाग्य हो भन्दै यसैमा रमाएर सरकारका कृयाकलापहरु सञ्चालन गर्नु ।

हालसालै भएको वाम एकता आधारपत्र संझौताले सरकारको नैतिक शक्ति वढाएर आन्तरीक राजनीतिमा सकारात्मक छलांग लगाएको छ । यसले देश भित्र र वाहिर तरंग पैदा गरिदिएको छ भने नेपाली जनतालाइ चमत्कारीक सुखद उपहार दिएको छ । यसका अभियान्ताहरुले नेपाल र नेपालीहरुप्रति गौरवशाली गुण लगाएका छन । लगातार वितृष्णा र नैराश्य लाग्दो राजनीतिलाइ एकाएक अपरिहार्य र गौरवशाली वनाएका छन । यसले दुनियाका वामपन्थीहरुलाई संगठनका सकारात्मक प्रभाव विस्तार गर्न संगठनमा अन्तरनिहीत सवलपक्षहरु र त्यसले निर्माण गर्ने अवसरहरुको आँकलन गरेर संभावीत संभावना र अवसरहरु प्रष्फुटन गर्न सकारात्मक दृष्टिकोणवाट सोच्न र तदनुरुप व्यवहार गर्न अभिप्रेरित गरेकोछ । प्रसिद्ध व्यवस्थापन विज्ञ स्वर्गीय श्री पिटर डकरको “नेतृत्वको कार्य भनेको सवल पक्षहरुको गठनवन्धन वनाउनु हो जसले गर्दा कमजोरीहरु आफै निष्काम भएर जान्छन” भन्ने भनाईलाई अध्यक्षद्धय कमरेड केपी वली र कमरेड प्रचण्डले हुवहु लागु गरेर नेतृत्वमा अन्तरनिहित सकारात्मक सोचको शक्ति र प्रभावको तागत दुनियालाइ देखाई दिनु भएको छ । समृद्धि, स्थिरता, शान्ति, सदभाव र सहकार्यको दिगो मोडेल खाजिरहेको नेपाल र सिंगो विश्वका अगाडी एउटै उद्धेश्य प्राप्तीका लागि सिद्धान्तका नाममा टुट फुट भएका राजनीतिक पार्टीहरुलाई पथ प्रदर्शित गर्न सक्नु भएको छ । यस एकताले कोरा सिद्धान्तको आधारमा टुट र फुटको खेती गर्नेहरुलाइ सिद्धान्तलाइ व्यवहारमा रुपान्तरण गर्न आवश्यक पर्ने साँगठानीक शक्तिको महत्व वुझन र त्यसलाइ सम्मान गर्न अभिप्रेरित गरेको छ । यो राजनीति सँगठन विकासको एक अग्रगामी छलांगको नमुना हो । यसले एकपटक दुनियाँलाई राजनीतिले नै सँगठनको स्वरुप निर्धारण गर्दछ भन्ने सन्देश विश्वभरीका राजनीतिक, समाजशास्त्री एव व्यवस्थापन विज्ञहरुलाई प्रवाहित गरेको छ । सकारात्मक सँगठन विकासमा यो अतुलनीय योगदान सिद्ध हुनेछ ।

इतिहासको यस मोडमा वहाँहरुले गर्नुभएको यस चमत्कारीक निर्णय र त्यसको कार्यान्वयनले गर्दा राजनीति शास्त्रमा मात्रै नभई व्यवस्थापन र विकासमा पनि वहाँहरुको योगदानको कदर शदियौ सम्म हुनेछ । अध्यक्षद्धयले आफनो उचाइलाइ शिखरमा त पुर्याउनु नै भएको छ भने आगामी दिनमा राजनीति शास्त्रमा, समाजविज्ञान र व्यवस्थापनका क्षेत्रहरुमा समेत यसको उचित प्रसंसा हुनेछ । यसको सकारात्मक प्रभाव नेपालमा मात्रै नभई दुनियाका धेरै देशहरुले यस मोडेलवाट सिक्न सक्ने छन । संभवतः राजनीतिशास्त्र, समाजशास्त्र एवम् व्यवस्थापन विज्ञहरुको लागि यो एक सोधको विषयको रुपमा स्थापित हुनेछ । यस महान कार्यका सारथी, सहयोगी, समर्थक र कार्यकर्ताहरुले समेत जीवनको सवै भन्दा उत्कर्ष उपलब्धीको रुपमा ग्रहण गरेर यस महान एकताको संरक्षण, सम्वर्धन र विकासको लागि सकारात्मक सोच र प्रसंसनीय दृष्टिकोणका साथ योगदान दिनु पर्दछ भने यस्तो महान कार्यमा जोडिन पाएकोमा गर्व गर्ने सहास पनि प्रर्दशन गर्न सक्नु पर्दछ ।

द्धन्द्धात्मक भौतिकवादी दृष्टिकोणले हेर्दा यस एकता पनि सकारात्मक र नकारात्मक पाटाहरु हुन्छन । सकारात्मक पक्षहरुलाइ ध्यान दियो भने सकारात्मकता वढेर जान्छ । नकारात्मकतालाई ध्यान दियो भने नकारात्मकता नै वढेर जान्छ । कुनै पनि कुरालाइ नकारात्मक पक्षवाट व्याख्या र विश्लेषण गर्न जति सजिलो हुन्छ सकारात्मक पक्षवाट व्याख्या र विश्लेषण गर्न त्यति नै गाह्रो हुन्छ अथवा त्यही ज्ञान, सिप र दक्षताले सकारात्मक पक्षहरुो व्याख्या गर्न सक्दैन । सकारात्मक व्याख्या सवैको कावुमा पनि हुदैन । यो आम सोच्ने, हेर्ने र वुझ्ने तरिकामा भर पर्दछ । सकारात्मक पक्षहरुको व्याख्याको लागि विगतका सवल पक्षहरु र भविष्यका अवसरहरु हेर्न सक्ने ज्ञान र सिप हुनु पर्दछ । समाजमा ज्ञान चेतना र उत्प्रेरणा फैलाउनु आफैमा जटिल कार्य हो जुन यस एकताले सहज वनाएको छ । यस एकताले सतहमा नदेखिने तर व्यवहारमा परिवर्तन ल्याउने सकारात्मक खालका प्रभावहरु पार्नेछ ।

कुनै पनि समाजको विकासको लागि त्यस समाजको साझा दृष्टिकोणको आवश्यकता पर्दछ । जति धेरै जनताको साझा दृष्टिकोण निर्माण हुन्छ त्यति धेरै समाजिक सदभाव, एकता, शान्ति र विकासका आधार तयार हुन्छन भने सदस्यहरुमा उत्साह, सिर्जनशिलता र उत्प्रेरणा पैदा हुन्छ । समृद्ध, एकिकृत र वृहत्तर सँगठन नै साझा दृष्टिको निर्माणको आधार हो । यस एकताले नेपाली समाजलाइ निरन्तर उत्प्रेरेरीत र एकिकृत भएर सिंगो देशलाइ एकिकृत साझा दृष्टिकोण निर्माणको लागि वृहत्त संगठन भित्र समेटेकोछ । कोरा सिद्धान्तको नाममा जीवन व्यवहारलाइ नछुने सिद्धान्तको रटलगाएर, एक आपसमा वैमनश्यता पैदा गर्दै व्यक्तिगत स्वार्थसिद्ध गर्ने अभिष्ठ वोकेकाहरु यस एकतावाट रन्थनिएका छन भने अस्थिर राजनीतिक खिचातानीवाट आफ्नो अभिष्ठ पुरा गर्दै आएका देशी तथा विदेशी दलालहरुको निद हराम हुनुले पनि यस एकताको माहानता र औचित्यलाइ सहजै पुष्ठि गर्दछ । यस एकताले राजनीतिलाई आफ्नो पेवा ठानेर सिंगो पार्टी र संगठनलाइ विरासत संझेर हालीमुहाली गर्नेहरुलाइ पनि योग्यता, क्षमता र दक्षताको कसीमा परिक्षीत हुन चुनौति दिएको छ भने, राजनीतिलाई पारदर्शी, उत्तरदायी र जवाफदेही वनाउने आधार निर्माण गरेको छ ।

स्वाभाविक रुपमा संगठनको आवरणमा हालीमुहाली गर्दै आएकाहरु र पार्टीहरु भित्र सामन्ती प्रवृतिका प्रतिनिधीहरुले यो वा त्यो वाहनामा यस एकतालाई भाँड्न हर सम्भव प्रयास गरिरहेका छन । सिद्धान्तको आवरणमा उनिहरुले वमन गरिरहेका विचारहरुवाट यो प्रष्ट हुन्छ । यस एकताले सिर्जना गरेका अवसर र संभावनाहरुलाइ स्विकार गर्न नसक्नु देश र जनताको भविष्य प्रति वेइमानी गर्नु हो । दुवै पार्टी भित्र केही नेता भनाउदाहरु विगतमा पार्टीहरुद्धारा भएका कमजोरीलाई आधार वनाएर आफ्ना दृष्टिकोण व्यक्त गरिरहेका छन र भविष्यमा आइपर्ने चुनौतिहरुको आँकलन गरिरहेका हुन्छन । त्यसै गरी केही विद्धवानहरु पुरा आकार नै ग्रहण नगरेको सरकारका चुनौतिहरुको व्याख्या तथा विश्लेषण गरेर आफ्नो विद्ध्वता प्रर्दशन गरिरहेका छन । भरखर आशा र उत्साह सञ्चार गरेर सकारात्मक उर्जा ग्रहण गर्न खोजेको नेपाली समाजमा यो वा त्यो वहानामा नकारात्मक सन्देश प्रवाह गर्ने तथाकथाती विद्धवानहरुका वकमफुसे व्याख्या र विश्लेषणको कुनै तुक छैन ।

स्मरण रहोस हर भविष्य संभावनाको भण्डार हो र दक्ष र जिम्मेवार राजनेताले त्यो भण्डारवाट अवसरको पोको निकाल्न अलमल गर्नु हुदैन । निश्चित रुपमा यस एकतालाइ दिगो र मजवुत वनाउन दुवै पार्टीसँग आवद्ध नेता, कार्यकर्ता र समर्थकहरुको सोच्ने तरीकामा आम रुपान्तरण जरुरी छ ा विगतमा जस्तै आलोचनात्मक दृष्टिकोण राखेर एक अर्काका कमजोरी खोज्ने शास्त्रीय मनोविज्ञामा आधारीत समस्या समाधान विधीमा आधारीत सोचलाई सकारात्मक मनोविज्ञानमा आधारीत प्रसंसनीय खोज दृष्टिकोणले प्रतिस्थापन गर्न सक्नु पर्दछ । यदि सबैले आफु भित्र यी दुइ अहँ प्रश्नको उत्तर खोज्ने अभ्यास गरयौ भने यस एकताका सकारात्मक पक्षहरुसँग साक्षातकार हुन सक्नेछौ । प्रश्न नं १ नेपालमा कम्युनिष्ट पार्टीको गठन किन भएको थियो ? प्रश्नं नं. २ म किन यस पार्टीमा सँगठीत भएको हुँ ?

डा. राम चन्द्र लामिछाने
यस लेखको सम्पादित संस्करण मिति २०७४ साल फाल्गुण १७ को नयाँ पत्रिकामा प्रकासित भएको छ ।

http://www.enayapatrika.com/2018/03/01/28118/

Facebook Comments