प्रदेश २ को समृद्धि सपना : यसरी बन्न सक्छ संसारकै उत्कृष्ट मानवबस्ती ! डा. रामचन्द्र लामिछाने

असार २१, २०७५

http://lokaantar.com/samachar/47717

संघीय गणतन्त्र नेपालको संविधान २०७२ ले नेपाललाई एकात्मक राज्यप्रणालीबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्रको रूपमा संस्थागत रूपान्तरण गरेको छ । नयाँ संरचनाअनुसार नेपाललाई संघ, ७ प्रदेश र ७५३ स्थानीय तहमा पुनर्संरचित गरिएको छ । शासन सत्ता सञ्चालनमा स्थानीय जनताको प्रत्यक्ष सहभागिता र पहुँच पुगोस् तथा लोकतान्त्रिक मूल्य र मान्यताअनुसार स्वशासित हुने अवसरको सुनिश्चितता होस् भन्ने अभिप्रायका साथ नेपालमा संघीय शासन प्रणाली स्थापना गरिएको हो । सामन्तवादी शासन व्यवस्था र सामाजिक प्रचलनका कारण जातीय छुवाछुत, लैगिंक विभेद, बोक्सी, दाइजो, वालविवाहजस्ता सामाजिक कुरीतिहरूले नेपाली समाजलाई पछौटेपन र अविकसित अवस्थामा राखेको छ ।

आधुनिक विज्ञान, प्रविधि, सूचना तथा सञ्चारको जमानामा पनि नेपाल एक पछौटे राष्ट्रको रूपमा परिचित रहेको छ । देश विकासका लागि आवश्यक स्रोत र साधनहरू विशेषतः अर्थ, जनशक्ति, कच्चा पदार्थ सबै कुराको प्रचुरता हुँदाहुदै पनि राजनीतिदेखि समाजिक आनीबानी तथा व्यवहारहरूमा मानसिक दरिद्रता, संकीर्ण सोच, नैरश्य र निराशाले जकडेका कारण प्राप्त सबै उपलब्धिहरूको सही सदुपयोग हुन सकेको छैन । देशले विकासका प्राथामिकताहरूको सही पहिचान गर्न नसक्दा ६० वर्षको विकासको प्रयास वालुवामा पानी हालेजस्तो भएको छ । वैज्ञानिक सोच र दृष्टिकोणको अभावमा विकासका प्राथामिकताहरू ओझेलमा परेका छन् ।

अल्पकालीन सोच र तुरुन्तै फाइदा लिने प्रवृत्तिले देशकोे विकासलाई सुस्त बनाइदिएको छ भने विकास प्रथामिकताको सही पहिचानको अभावमा प्रदेश नं २ ले गति लिन सक्दैन । प्रदेश नं २ को समग्र दिगो विकासको लागि भविष्यमुखी सकारात्मक योजना पद्धतिमा आधारित दूरदृष्टिको निर्माण गरेर योजनाबद्ध तवरमा अगाढि बढ्न जरुरी छ । राजनीतिज्ञ, नीतिनिर्माता, प्राज्ञिक, नागरिक अभियान्त, शिक्षक विद्यार्थी, जनता सबैमा सकारात्मक सोच र सदभाव, सहकार्य र सिर्जनशील सोच तथा व्यवहारले प्रदेश नं. २ को समृद्धिको यात्रा तय गर्न सकिन्छ । हालसम्म विभिन्न क्षेत्रमा प्राप्त गरिएका सकारात्मक प्रतिफलमा आधारित भएर भविष्यको मार्ग निर्माण गर्न सहज होस् भन्ने हेतुले प्रदेश नं २ को समाजिक वस्तुस्थितिलाई यहाँ प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

१. जनसांख्यिक विवरण
सातवटै प्रदेशमध्ये प्रदेश नं २ जनसंख्याको हिसाबले दोस्रो ठूलो प्रदेश हो । यो प्रदेश राजधानीबाट दक्षिणपूर्व २७६ किमी टाढा रहेको छ । यहाँ जम्मा ५० लाख ४० हजार ४४५जनसंख्या छ भने घरधुरी संख्या ८ लाख २५ हजार ४३५ रहेको छ । यस प्रदेशमा १३६ वटा स्थानीय निकाय १०६ प्रदेशसभा निर्वाचन क्षेत्र र ३२ संघीय निर्वाचन क्षेत्र छन् । यस प्रदेशमा पुरुषको तुलनामा महिलाको जनसंख्या बढी रहेको छ ।

यहाँको जनसंख्या नै यस प्रदेशको द्रुत विकासको आधार हो । स्थानीय, प्रदेश र संघीय सरकारले जनशक्ति विकासको वैज्ञानिक र दिर्घकालीन रणनीतिका साथ विकासका प्राथामिकताहरू निर्धारण गरेर कार्यक्रम लागु गर्नु पर्दछ ।

२. प्रदेशमा जनसंख्याको वितरण

यो शहरउन्मुख प्रदेश हो र यहाँ गाउँपालिकाभन्दा नगरपालिका, उप–महानगरपालिका र महानगरपालिकामा बसोबस गर्ने जनसंख्या धेरै छ । यहाँ अपाङ्ग तथा विदेशमा कार्यरत जनसंख्या पनि उल्लेख्य छन् । महिला अपाँगको तुलनामा पुरुष अपाँगहरू बढी छन् । वैदेशीक रोजगारीमा महिलाको तुलनामा पुरुषको जनसंख्या बढी छन् । प्रदेशको विकासमा यो समुहको जनसंख्याको योगदान फरक प्रकारले हुने हुँदा यस वर्गका जनताको सहभागिता,  योगदान र विकास प्रतिफलको सुनिश्चित हुने गरि विकासका नीति तथा कार्यक्रम तर्जुमा गरेर कार्यान्वयन गर्नु पर्दछ ।

सबै तहका सरकारहरूबाट गरिने कृयाकलापहरूमा जनताका आधारभुत आवश्यकता, स्वतन्त्रता र आत्मसम्मानको सुनिश्चित हुन सकेमा मात्र विकासको आधारशिला तयार हुन सक्दछ । नगरपालिका तथा गाउँपालिकाले नाीति, कानुन तथा कार्यक्रम तर्जुमा गर्दा यस समुहका जनताहरूका सिमिता, अवसर र आवश्यकतालाइ विश्लेषण गरेर नीति, कार्यक्रम तथा रणनीतिहरू तर्जुमा गरि कार्यान्वयन गनु पर्दछ ।

३. प्रदेशको समाजिक अवस्था

राष्ट्रीय औषत जनघनत्वको तुलनामा प्रदेश नं २ का सबै जिल्लाहरूमा जनघनत्वको चाप धरै छ । यहाँका सबै जिल्लाको साक्षरता दर राष्ट्रीयऔषत भन्दा थोरै छ । विद्यालय तथा क्याम्पसहरूको उल्लेख्य उपलब्धता भएतापनि विद्यालय वाहिर रहेका वालवालिका अत्याधिक भएका जिल्लाहरूमा यस प्रदेशका सबै जिल्लाहरू पर्दछन। सुरक्षाको दृष्टिकोणबाट नेपाल प्रहरी र शसस्त्र प्रहरीको उपलब्धता भएपनि चोरी डकैती, अपहरण जस्ता समस्याहरू उल्लेख्य रूपमा रहेका छन् । समाजिक कुरीतिले समाजलाई जकडेको भए पनि समाजिक विभेद, कुरीति, शोषण, दाइजो, वालविवाह, जातीय छुवाछुत विरुद्ध अदालत, स्थानीय प्रहरी तथा स्थानीय सरकारहरूमा निकै कम मुद्धाहरू दर्ता हुने गरेका छन् । जनचेतनाको अभावमा यस प्रदेशका जनताहरूमा अन्याय अत्याचार थिचोमिचो विरुद्ध उजुरी गरेर अधिकार दावी गर्ने सँस्कारको विकास भएको छैन । यस प्रदेशमा लैगिंक विभेद अधिक रहेको छ भने अत्यन्त न्युन महिलाहरूको मात्र सम्पत्तिमाथी स्वामित्व रहेको छ । सहकारीको विकास यस प्रदेशमा सन्तोषजनक रूपमा विस्तार भईरहेको छ तर सहकारीमा जम्मा वचतलाई उद्यमशिलता तर्फ प्रयोग गर्न महिला तथा युवा शसक्तिकरण आवश्यक रहेको छ ।

४. शैक्षिक अवस्था 

यस प्रदेशमा महिलाको तुलनामा पुरुष साक्षरता बढी रहेको छ । प्राथामिक तहको शिक्षामा विधार्थीको सहभागिता राम्रो देखिएपनि विद्यालय वाहिर धेरै वालवालिकाहरू रहेकाछन् । प्रदेशको जनसंख्याको करिव ४५ प्रतिशत जनसंख्या विभिन्न तहको शिक्षा आर्जनमा संलग्न छ । प्राथामिक तहको तुलनामा निम्न माध्यामिक तहमा गएर अध्ययन गर्ने विद्यार्थी सँख्या ४३ प्रतिशतले कम छन् । यहाँ एक तहबाट माथिल्लो तहमा जादा विद्यार्थी संख्यामा उल्लेख्य कमी आएको छ । एक त धेरै विद्यार्थी विद्यालय वाहिर रहनु अर्को एक तहबाट अर्को तहमा जादा उल्लेख्य रूपमा विद्यार्थी घटदा प्रदेशको दक्ष जनशक्ति उत्पादनमा प्रत्यक्ष प्रभाव परेको छ जसले दिर्घकालिन रूपमा यस प्रदेशको आर्थिक तथा समाजिक विकासमा असर गरेको छ । दक्ष जनशक्तिको अभावमा समाज आधुनिकता र प्राथामिकता तिर लम्कन सकेको छैन जसले गर्दा अन्याय, अत्याचार, भ्रष्टचार जस्ता समस्याहरू ज्यूँकात्यूँ छन् ।

५. विषयगत शिक्षामा प्रदेशको अवस्था

प्रदेश २ मा कला, मावविकी, वाणिज्य तथा शिक्षा शास्त्र जस्ता विषय प्रति विद्यार्थीहरूको प्रमुख आकर्षण रहेको देखिन्छ । प्रदेशको मुख्य जीवीको पार्जनको रूपमा रहेको कृषि तथा पशुविज्ञान, खाद्यप्रविधि, कृषिमा आधारित उद्यमशीलता जस्ता विषयहरूमा निकै कम मात्रामा जनशक्ति उत्पादन भएको देखिन्छ । प्रयाप्त जनशक्तिको अभावमा यस प्रदेशका आर्थिक विकासकआ अवसरहरू प्रष्फुटन हुन नसकेको कारण जनताहरू न्यून आयको लागि अधिक श्रम गर्न वाध्य देखिन्छन् भने महिलाहरूको उच्च शिक्षा र प्राविधीक शिक्षामा निकै कम सहभागिता देखिन्छ । महिलाहरूको उच्च शिक्षामा भएको कमजोर सहभागिताले प्रदेशमा दाइजो, वोक्सी, वालविवाह, वहुविवाह जस्ता कुरीतिहरूले प्रश्रय पाइरहेका छन् । प्रदेशमा लैगिक सहभागिता कायम गरी महिलाहरूलाइ आर्थिक तथा समाजिक विकासमा सहभागिता गराउन प्राविधीक शिक्षामा महिलाहरूको सहज पहुँच सुनिश्चित जरुरी छ ।

६. प्रदेशमा घरको स्वामित्व

यस प्रदेशमा वसोवास गर्ने जनताहरू मध्ये ९६ प्रतिशत जनताको आफ्नै घर छन् भने बाँकी भाडा वा संस्थागत घरहरूमा बसोबास गर्ने गरेका छन् । यसरी आफ्नै घरमा वसोवास गर्ने जनताका घरहरू विभिन्न प्रकारका रहेका छन् । प्रदेश सरकार एवम स्थानीय सरकारसँग भवन आचार संहिता नभएको र साविकका गाउँपालिका, नगरपालिक र जिल्ला विकास समितिहरूले भवन आचर संहिता तथा निर्माणको लागि कुनै पनि प्रकारको मापदण्ड नवनाएको कारण प्रदेश भित्रका वस्ती एवम घरहरू व्यवस्थित र न्यूनतम मापदण्ड पुरा गरेका छैनन ।

७. प्रदेश भित्रका घरहरूको बनावट

प्रदेश नं २ मा ७० प्रतिशतहरू काठबाट वनेका छन् । विशेषतः शहरी तथा शहरउन्मोख क्षेत्रहरूमा ईटाका घरहरू छन् ।ईटाका घरहरू सिमेन्ट र माटोको जोडाईबाट वनेका छन् भने  ५ प्रतिशत मात्रघरहरू  आरसीसी रहेका छन् । यस प्रदेशमा वनेका अधिकाँश घरहरू भुकम्प प्रतिरोधात्मक छैनन । गर्मी मौसममा आगलागीका कारण यस प्रदेशमा ठूलो मात्रामा क्षति हुने गरेको छ भने घर वनाउदा स्थान छनौट गर्न स्किृति लिने प्रावाधान नभएका कारण खोला किनार र गहिरो स्थानमा निर्माण गरिएका घरहरू वर्षेनी वाढीको चपेटामा पर्ने गरेका छन् भने निर्माणको क्रममा प्रयोग गरीने कमशल गुणस्तरका निर्माण सामाग्रीका घरहरू उच्च जोखिमका अवस्था रहेका छन् ।

८. घरका छानाका बनावटहरू
प्रदेश नं २ मा घरका छानाका वनावटहरू विभिन्न प्रकारका रहेका छन् । अधिकाँश (५० प्रतिशत) घरहरू  टायलले छाएका छन् भने करिव २६ प्रतिशत घरहरू खरले छाएका छन् । गरिवीको रेखा मुनि रहेका र निम्न मध्यम वर्गीय परिवारहरूले घरहरू खरले छाएका छन् । अधिकाँश घरहरू टायलले छाएका छन् । टायलको उत्पादन पनि यसै प्रदेशमा हुने हुदा टायल उत्पादनको क्रममा रोजगारीको पनि श्रृजना भएको छ भने खरको तुलनामा टायल अधिक टिकाउहुने हुँदा घर सुरक्षित र सफा हुन्छ । जस्तापाता र ढलान गरेका घरहरू पनि उल्लेख्य मात्रामा रहेका छन् । खरले छाएको घरहरू भएको ठाउँमा आगलागीको प्रकोप वर्षेनी हुने हँुदा यसबाट वच्न दिर्घकालिन उपाय खोज्नु जरुरी भएको छ ।

९. खानेपानीको उपलब्धता

सरसर्ती हेर्दा यस प्रदेशमा खानेपानीको उपलब्धता सहज जस्तो देखिएता पनि खाने पानीको आपूर्तिको मुख्य स्रोतको रूपमा (९२ प्रतिशत) टुयुववेल रहेको छ । आर्सेनीक र खनीज पदार्थको समिश्रणको परिक्षण नगरिने हुदा टुयवेलको पानी स्वास्थ्य सुरक्षाको दृष्टिकोणबाट शंकास्पद रहेको छ । खाने पानी आपुर्तिको पानी करिव १२ प्रतिशत घरधुरीको लागि मात्रै प्रयाप्त छ । इनार र वगेको पानीको प्रयोगका कारण पनि मसौमी प्रकोपहरू फैलिइरहने भएकाले जनस्वास्थ्यमा चुनौतीहरू थपिएका छन् ।

१०.प्रदेशमा इन्धनको सदुपयोग

यस प्रदेशको दैनिक घरायसी प्रयोजनको इन्धनको मुख्य स्रोतको रूपमा दाउरा र गुइठा गरेर ९० प्रतिशतको हाराहारीमा रहेको छ भने अन्य १० प्रतिशतमा मटितेल, ग्यास, गोवर ग्यास, विजुली र अन्य स्रोतहरू रहेको छ । गुईठा र दाउराको अधिकतम प्रयोगले प्रयोग कर्ताहरूमा दम, खोकी, टिवी जस्ता रोगहरू देखिएका छन् भने जीवन यापनको लागि अधिकाश समय दाउरा र गुइठा निर्माण एवम् संकलनमा विताउनु पर्ने भएकोले उत्पादन वृद्धि हुन सकेको छैन । खेतीमा प्रयोग गर्न पर्ने गुइठालाई इन्धनको रूपमा प्रयोग गर्दा प्रागंरीक मलको पनि अभाव भएको छ ।

बत्तीको स्रोत

प्रदेश नं २ मा घरमा वालिने वत्तीको प्रमुख स्रोतको रूपमा विजुली वत्ती रहेको छ भने मटितेल पनि प्रशस्त मात्रामा प्रयोगमा रहेको छ । सोलार र गोवर ग्यासको प्रयोग केही घरधुरीमा हुने गरको देखिन्छ । तर चर्को लोडसेडींगको कारण बीजुली वत्ती सँगसगै मटितेलको प्रयोग प्रचलन प्रदेश भरी नै प्रयाप्त रहेको छ । सहज र गुणस्तरीय जीवनको लागि विजुली वत्तीको सहज आपुर्ती तर्फ ध्यान दिनु आवश्यक छ ।

११. शौचालयको उपलब्धता

प्रदेश नं २ मा शौचलायको उपलब्धता निकै नै न्यून रहेको छ । यहाँको सबै जिल्लाहरूका अधिकाँश घरहरूमा शौचालयको अभाव रहेको छ । यस प्रदेशका अधिकाँश जनताहरूले शौचालयको अभावमा भोग्नु पर्ने सबै प्रकारका समस्याहरू भोगी रहेका छन् जसले गर्दा जीवन कष्टकर र निरास वनाइदिएको छ । शौचालयको अभावमा किशोर किशोरीहरूको आत्मविश्वास र व्यक्तित्वको चौतर्फी विकास हुन सकिरहेको छैन । आधारभुत जीवनयापनका कुराहरू मा सर्वसाधरणले सुविधा नपाउदा विकास साझेरदार, जनता र सरकार विच अविश्वासको खाडल वढदै गएको छ ।

१२. घरमा उपलब्ध सेवा तथा सुविधाहरू

कुनै पनि घर परिवारको समृद्धीको सूचकको रूपम त्यस घरमा प्रयोग गर्ने सेवा र सुविधालाइ लिन सकिन्छ । प्रदेश नं २ का घरधुरी मध्ये २० प्रतिशत जति घरधुरीमा कुनै प्रकारका सुविधाहरू छैनन भने वाँकी घरधुरीहरूले कम्तिमा पनि एक प्रकारका सुविधाहरू प्रयोग गर्ने गरेका छन् । यस प्रदेशका सबै जिल्लाहरूका जनताहरू विस्तारै आधुनिक सेवा सुविधा तर्फ आकर्षित हुदैछन् तर आर्थिक अवसरहरूको अभावमा आधुनिक सेवा र सुविधाहरूले जीवनलाइ थप कष्टकर वनाइदिएका छन् । केही सिमित घर परिवारहरूले मात्रै आधुनिक महंगा सुविधाहरूको सदुपयोग गरिरहेका छन् । यस प्रदेशमा सवारी साधनको रूपमा अधिकाँश घरधुरीहरूले साइकल प्रयोग गर्ने गरेका छन् तर प्रदेशका राजमार्ग र सहायक मार्गमा साइकल लेन नहुदा अधिकाँश ठाउँमा दुर्घटनाको जोखिम रहेको छ ।

१३. मानव विकास सूचकाङ्क  

यो प्रदेश मानव विकास सूचाँकमा देशको पाँचौ प्रदेशको रूपमा रहेको छ । मानव विकास सूचाँक भनेको औषत आयु, शिक्षा, तथा औषत आयको समिश्रण हो । यस प्रदेशमा शिशु मृत्युदर ५६.६०९ प्रति हजार छ  जुन राष्टिय औसत भन्दा करीव (२७.९) दोव्वर हो । यस प्रदेशको औषत साक्षरता पनि राष्टिय औसत भन्दा कम (५०.२०) छ । भने यहाँको जीवन प्रत्याशा भने राष्टि औसत (६९.९७ वर्ष) भन्दा राम्रो छ । यस प्रदेशमा अधिकाँश जनसंख्या (७३ प्रतिशत) शौचालय विहिन छन् ।

१४. शैक्षिक अवस्था

यस प्रदेशमा संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयको संख्या धेरै छ । यस प्रदेशमा विद्यालय छोडने विद्यार्थीहरूमा सबै भन्दा बढी मावि स्तरमा छात्राहरूको दर बढी छ भने प्राथामिक तहमा छात्र बढी छन् । निमावी स्तरमा पनि छात्राको तुलनामा छात्रहरू धेरै रहेका छन् ।

१५. स्वास्थ्य सेवा तथा सुविधाहरू

यो प्रदेशमा स्वास्थ्य सेवा उपलब्धताका आधारमा अन्य प्रदेश भन्दा अगाडी छ । यहाँको स्वास्थ्य सेवाको उपलब्धताको क्षमता प्रदेशका सबै जनताहरूलाई आधारभुत सेवा प्रदान गर्न सक्दछ । यो संरचनाले स्वास्थ्य क्षेत्रका वहुआयमिक समस्याहरूलाई सम्वोधन गर्न सक्ने गरी संरचित गरिएको छ । तर गुणस्तरीय सेवा, स्वास्थ्यकर्मीहरूको अभाव, भएका स्वास्थ्यकर्मीहरूमा पनि जिम्मेवारी र जवाफदेहीताकारण जनताले गुणस्तरीय सेवा र सुविधा प्राप्त गर्न सकेका छैनन् ।

निष्कर्षः 

प्रदेश नं २ स्रोत र साधनका दृष्टिकोण प्रचुर सम्भावना भएको प्रदेश हो । २१ औ शताब्दीको विकासको मुख्य आधार जनशक्ति हो । यदि यस प्रदेशमा भएका जनताको सीप र क्षमता अभिवृद्धि गरी दक्ष बनाउने हो भने आगामी केही वर्षभित्र यो प्रदेशको दुनियाँको उत्कृष्ट मानव बस्तीमा रूपान्तरण हुन्छ । यस प्रदेशका अधिकांश समस्याहरू सु्शानसँग सम्बन्धित छन् भने सुशासन आउने आमूल सकारात्मक परिणामले प्रदेशका जनताहरूलाई स्वयमको पहलमा सकारात्मक रूपान्तरणको नेतृत्व गर्न अभिप्रेरीत गर्दछ । यहाँ हरेका बाल बच्चाहरूको सुन्दर भविष्य र महान शहीदहरूको सपना पूरा गर्न स्थानीय, प्रदेश र संघीय सरकारले यहाँको जनशक्तिमा आधारित विकासका मोडल निर्माण गरी कार्यान्वयन गर्न सक्नुपर्दछ । वितरणमुखी र निर्वाहमुखी विकास सोच र अवधारणले प्रदेशलाई सदियौंसम्म पछौटेपन र गरीबीकै चंगुलमा जकडेर राख्ने हुँदा नीति निर्माताहरूले भविष्यमुखी रूपान्तरणकारी सोचमा आधारित विकासको मार्ग तय गर्न जरुरी छ ।

प्रदेशको सकारात्मक रूपान्तरणको लागि सबैलाई हार्दिक शुभकामना । धन्यवाद !

असार २१, २०७५ मा प्रकाशित

Leave a Reply

Leave a Comment

Your email address will not be published. Required fields are marked *