७० वर्ष एक जना व्यक्तिको सिंगो आयु हो । व्यक्तिले जीवनमा जे जति गर्न पर्ने हो त्यो सवै गरेर त्यसको परिणाम प्राप्त गरेर वसी वसी खाने उमेर हो ७० वर्ष । नेपालमै सरकारी जागीर गर्नेहरुले ५८ वर्ष सम्म काम (सेवा) गरेपछि वाँकी जिन्दगी वसी वसी खान पाउछन । समाजलाई आमुल रुपान्तरण गरेर सवै प्रकारका विभेद र अन्यायको अन्त गरेर समतामुलक समाजको स्थापना गर्ने अठोटका साथ नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७० वर्ष भयो । कम्युनिष्ट पार्टीको अन्तिम उद्धेश्य भनेकोे उत्पादनका श्रोत तथा साधनहरुमा श्रमजीवि वर्गको नियन्त्रण कायम गरेर शक्ति प्राप्त गरी वर्गविहिन र राज्यविहिन समाजको स्थापना गर्नु हो । कम्युनिष्ट पार्टीको लागि सिंगो विश्व मानव समुदाय भनेको नै एउटा वृहत्तर समाज हो र यो पृथ्वीको श्रोत तथा साधनहरु सवै मानिसहरुका लागि साझा सम्पत्ति हुन । यी श्रोत र साधनहरु माथि सर्वाहरा वर्गको नियन्त्रणले वर्गविहिन र राज्य विहिन समाजको स्थापना गर्न सकिन्छ भन्ने मुल मर्म कम्युनिष्टको हो । यो वृहत्तर लक्ष्य प्राप्तीको लागि सवै देशरुमा कम्युनिष्ट पद्धतीले निदिष्र्ट गरे अनुसारका क्रान्ति सम्पन्न हुन आवश्यक हुने भएकोले सवै देशमा शसक्त कम्युनिष्ट पार्टीहरुको स्थापना तथा विकास अपरिहार्य हुन्छ । विश्व सर्वाहरा वर्गको हित सोच्ने सिद्धान्त वोकेर सिमित गुट र साँघुरो दायरामा सिमित रहेर कम्युनिष्ट आदर्शले निर्दिष्ट गरेको लक्ष्य प्राप्त गर्न सकिदैन । कम्युनिष्ट आदर्श समग्र मानव समुदायको मुक्तिको सिद्धान्त हो न की व्यक्ति वा सानो गुटको । स्थापनाको ७० वर्षमा नेपालका कम्युनिष्टहरुले कम्युनिष्ट सिद्धान्तको सैद्धान्तीक शुद्धिकरण र सिद्धान्तको व्यवहारीक प्रयोगको वारेमा व्यापक छलफल गर्नु आवश्यक छ ।

नेपालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नरवहादुर कर्मचार्य, निरन्जन गोविन्द वैद्य र नारायण विलास जोशीहरुले स्थापना गर्नु भएको कम्युनिष्ठ पार्टी निकै उतार चढावको सामना गर्दै करिव ७० वर्षका अवधिमा देशमा निकै शक्तिशाली सरकारको नेतृत्व गरीरहेको छ । राजनीतिको सिद्धान्त र व्यवहार ठीक छ भने प्रतिकुल अवस्थामा पनि राजनीतिक पार्टी जनताको आकर्षणको केन्द्र वन्दछ भन्ने कुरा नेपालमा कम्युनिष्ट पार्टीको लोकप्रियताले प्रमाणित गर्दछ । नेपालमा पार्टी खोल्ने अवस्था समेत नभएर भारतमा स्थापना भएको यस पार्टीले न्याय र समानतको आवाज उठाउदा हजारौ नेता, कार्यकर्ता तथा समर्थकहरुले आहुती दिएका छन । एकातिर पञ्चहरुलाई देश भरीनै संगठन वनाउन सरकारी सेवा सुविधाका साथ आवाजत जावात गर्ने वातावरण थियो भने कम्युनिष्ट र काँग्रेस पार्टीका सदस्यहरुलाई प्रशासनले तथा पञ्चहरुले चिनेको सन्दर्भमा नै प्राण जाने वातावरण थियो । त्यस्तो अवस्थामा पनि किन कम्युनिष्ट तथा काँग्रेस पार्टी नेपालमा त्यति धेरै लोकप्रिय भए र २४० वर्ष देखीको राजतन्त्रको अन्त गर्न सफल भए ? नेपालमा कम्युनिष्ट पार्टीको तुलनामा नेपाली काग्रेसलाई केही सहज थियो भने २०४७ पछि कम्युनिष्ट भन्दा काँग्रेस झनै शक्तिशालि थियो तर १५ वर्षको अवधीमा काँग्रेसलाई पछाडी छोडदै विभिन्न खेमामा विभाजित कम्युनिष्टहरुको देशको सवै भन्दा शक्तिशाली भए । वहुदलिय प्रतिस्पर्धामा पनि कम्युनिष्ट पार्टीले अवलम्वन गरेको सिद्धान्त जनप्रिय भएको कुरा पुन प्रमाणित भएकोछ ।

२०७४ सालको निर्वाचनमा दुईतिर फर्किएका कम्युनिष्ट पार्टीहरुको एकिकरण पश्चात देशमा कम्युनिष्ट निकै शक्तिशाली पार्टीको रुपमा स्थापित भएको छ । के कारण ले यी पार्टीहरुवीच एकिकरण संभव भयो र यतिका विशाल शक्ति सिर्जना भयो भन्ने कुराको सही व्याख्या र विश्लेषणले नै कम्युनिष्ट पार्टीको आगामी दिनको यात्रालाई निर्देश गर्ने गर्दछ । पार्टीले अवलम्वन गरेको सिद्धान्त र त्यस सिद्धान्तलाई इमान्दरीसँग जिवन व्यवहारमा प्रयोग गरेका कारण कम्युनिष्ट पार्टी नेपाली समाजमा डढेलो सरी सल्कियो र पञ्च र काँग्रेसलाई डढायो । तर जव जव कम्युनिष्ट पाटी सत्तामा आयो यसका कार्यकर्ता तथा नेताहरुको जीवन शैली र व्यापक परिवर्तन आउने गरेको छ र सिंगो पार्टी र इमान्दार कार्यकर्ता तथा नेताहरुको त्याग र समर्पणलाई वदनाम गराउने गरेको छ । यदि यस्तो प्रचलन यहि गतिमा वढदै गयो भने कम्युनिष्ट पार्टी पनि एकादेशको कथा हुन जान्छ । अहिले कम्युनिष्ट पार्टी निर्विकल्प छ । यस पार्टीको नेतृत्वमा वनेका सरकारहरुको गलत नीति तथा कार्यक्रम र यस पार्टीका नेता तथा जिम्मेवारीमा रहेका कार्यकताहरुको गलत व्यवहारले नै यसको विकल्प जन्माउनेछ । त्यसकारण मुख्य नेतृत्वले आफ्नो भन्दा पनि राम्रो भन्ने कुरा भुलेर पनि विर्सन हुँदैन । एउटा जीवन्त पार्टीमा केही उतार चढाव हुन्छ । लाखौ कार्यकर्ता र हजारौ नेता भएको पार्टीमा केही लोभी पापीहरु हुन्छन तर तिनिहरु निर्णयाक तहमा नआइन्जेल सम्म केही नकारात्मक फरक पर्दैन तर ईमान्दर भएर पनि सही निर्णय गर्न नसक्ने र पार्टीलाइ गति दिन नसक्ने नेतृत्व भयो भने यस पार्टीको लागि सवै भन्दा ठुलो दुभाग्य हुनेछ त्यसकारण इमान्दार र सक्षम नेतृत्व सवै तहमा हुनै पर्दछ ।

२०७४ सालमा चमत्मकारीक निर्णय गरेर दुई पार्टीलाई एकिकरण गरेको नेतृत्वले निकै लामो प्रयास पछि जिल्ला स्तरको एकिकरण टुग्याएको छ र यसले जनतामा फेरी एकपटक उत्साह र उमंग थपेको छ । एकातिर अधिकाँश स्थानीय तह र प्रदेश सरकारको नेतृत्व, अर्कोतिर दुईतिहाई वहुमत सहितको संघिय सरकार अनि अर्कोतिर केन्द्र देखी वडा सम्म संगठीत सञ्जाल सहितको पार्टी, गतिशिल र इमान्दार नेतृत्व यस्तो अवस्थामा पार्टीको नेतृत्वले अवलम्वन गरेको समृद्ध नेपाल खुशी नेपालीको नारा विधुतिय गतिमा साकार गर्ने आधार तयार भएकोछ । अव एकिकृत पार्टी र यसका लाखौ कार्यकताहरुले के काम गर्ने भन्ने कुराको कार्यदेश स्पष्ट हुनु पर्दछ । परमपरागत सँगठन सञ्चालन शैलीवाट अगाडी वढेर सामाजिक आन्दोलनको पनि नेतृत्व गर्न सक्ने गरी पाटी कमिटीहरु, नेता तथा कार्यकर्ता र समर्थकहरुको कार्यादेश वनाएर लागु गर्नु पर्दछ ।

पार्टीका प्रत्येक सदस्यले कम्युनिष्ट पार्टीको अन्तिम उद्धेश्य के हो र कसरी त्यो उद्धेश्य प्राप्तीमा योगदान दिन सकिन्छ भन्ने वारेमा व्यापक छलफल गरेर आफनो अध्ययन र आचरणलाई कम्युनिष्ट सिद्धान्त प्रति दक्ष र सक्षम वनाउनु पर्दछ । शहरमा भ्रष्टचार, कुशासन, ढिलासुस्ती छ भने ग्रामिण भेगमा त झनै भ्रष्टचार, कुशासन, सामाजिक विभेद, छुवाछुत, दाईजो, वोक्सी, छाउपडी, लैगिंक विभेद जस्ता समस्याहरुले समाजलाई कुरुप वनाएको छ । यति शक्तिशाली र गौरवशालि इतिहास भएको कम्युनिष्ट पार्टी भएको देशमा यस्ता सामाजिक कुरीतिहरु हुन भनेको कम्युनिष्ट पार्टीको सामाजिक मुद्धाहरुमा प्रभावकारी रुपम हस्तक्षेप नभएको भन्ने नै हो । यी विभेदहरु कानूनी उपचारले निमिटयान्न हुदैनन यसको लागि संगठीत रुपमा मजवुत सामाजिक आन्दोलन चाहिन्छ र कम्युनिष्ट पार्टीको नेतृत्वमा हुने सामाजिक आन्दोलनले मात्रै यी कुरीतिहरुको अन्त हुन्छ । कम्युनिष्ट पार्टीको शाखा वडा र टोल टोल सम्म फैलिएको छ त्यसकारण यी सामाजिक कुरीति अन्त गर्ने अहिले छानीएको जिल्ला नेतृत्वको महत्वपूर्ण भुमिका हुन्छ । विगत केही वर्षदेखी कम्युनिष्ट पार्टीमा सिद्धान्तको वहस हुन छोडेको छ । कम्युनिष्ट सिद्धान्त र समाजवादको अर्थ र मर्म नवुझेका ठुलो झुण्ड स्थानीय पार्टी नेतृत्वमा हावी भएको छ भने स्थानीय तथा प्रदेश सरकारमा टुरिष्ठ कम्युनिष्टहरुको विगविगी भएका कारण कम्युनिष्ट सिद्धान्त आझेलमा परेको छ । यस्तो अवस्थामा नयाँ नेतृत्वले पार्टीको आदर्श, सिद्धान्त र व्यवहारीक प्रयोगको लागि व्यापक परिशिक्षण र छलफल गर्नु पर्दछ र नयाँ सिकाईलाई केन्द्रविन्दुमा राख्नु पर्दछ । स्मरण रहोस २१ औ शताब्दी ज्ञान, सिप र दक्षताको युग हो । यहाँ विचार, सिद्धान्तले नै पार्टीलाई निर्देशित गर्नु पर्दछ त्यसकारण दैनिक जीवन व्यवहारमा कम्युनिष्ट सिद्धान्तले के कसरी प्रभाव पार्दछ भन्ने कुराको अनुकरणीय व्याख्या र विश्लेषण हर तहको नेतृत्वले गर्न सक्नु पर्दछ ।

गाउँ गाउँमा व्याप्त कुरीतिको अन्त गर्दै समतामुलक समावेशी समाजको निर्माण गर्न जिल्ला, पालिका, वडा तथा टोलको नेतृत्वले वाजा वजाएर लाग्नु पर्दछ भने सवै कमिटीहरुक र कार्यकर्ताहरुलाई सकारात्मक भुमिका निर्वाह गर्न केन्द्रिय नेतृत्वले निरन्तर उत्प्रेरीत गर्नु पर्दछ । यदि टोल कमीटि देखी सचिवालय समिति सम्मका प्रत्येक वैठकमा सामाजिक कुरीति र कानूनी अनियमीतताहरुको अन्त गर्न पार्टी र पार्टीका सदस्यहरुको योगदानको वारेमा छलफल गर्ने र प्रगतीको समिक्षा तथा मुल्याँकन गरेर कुरीति अन्तका लागि निरन्तर समिक्षात्मक टिप्णी गर्ने परम्परा वसाल्ने हो भने नेपाली समाजको पछौटे पनको अन्तको लागि कम्युनिष्ट पार्टीको हस्तक्षेप कोशे ढुंगा सावित हुनेछ भने जनमानसमा कम्युनिष्ट पार्टी प्रति असिम आस्था र भरोसा विकास हुन्छ । यस माहान कार्यभारको नेतृत्व गर्न नव अनुमोदित जिल्ला नेतृत्वलाई सदवुद्धि मिलोस । हार्दिक शुभकामना ।

डा. राम चन्द्र लामिछाने
प्रमुख कार्यकारी अधिकृत, ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साइन्स

Facebook Comments