चारदिन भै सकेछ । उनी बिदेशबाट फर्केको। यसपाली आफ्नो कामको सिलसिलामा उनी लण्डन, भियना र डव्लिन हुँदै झण्डै तीन हप्तापछी स्वदेश फर्केकी हुन् ।
उनी फर्कने बेला सम्म युरोपको विभिन्न देशमा कोरोना भाइरसको आतंक फैलिसकेको थियो। इटलीमा त मान्छेहरु बिरामी भएर मर्न थालेको समाचार आईसकेको थियो। लण्डनमा पनि सार्वजनिक यातायात, होटेल, रेस्टँरा, पब र बारहरु, सिनेमा र नाचघरहरु प्राय बन्द भैसकेको थियो। त्यसैले, कार्यक्रम छोट्टयाएर उनी देश फर्केकी हुन् ।
देश फर्कन अगाडि नै उनले भाइवरमा मलाई फोन गरेर भनेकी थिइन, “अब म १४ दिन सम्म सेल्फ-आइसोलेसनमा बस्छु। मेरो कोठा सफागरी राख्नु । तिमीहरु छुट्टै सुत्ने ब्यवस्था गर्नु। आफुलाई चाहिने सामानहरु कोठाबाट हटाएर आफुसँगै राख्नु। म संग प्रत्यक्ष सम्पर्कमा न आउनु है।”
आजभोली, एकातिर छोराको बिएलई (BLE)चलिरहेको छ। अर्कोतिर उनी थाकेर फर्केकी छन लामो यात्राबाट। नभेटेको त्यत्रो दिन भैसकेको थियो । फेरि १४ दिनको सेल्फ आईसोलेसन। उफ ! त्यसमाथी ८० बर्ष नाघेको आमाको निरन्तर गहिरो चिन्ता ।
दिनकै भेट त हुन्छ। कुरा पनि हुन्छ। एउटै घरमा छौं । तर न संगै बसेर कुरा गर्न पाउनु। न छुन पाउनु । न माया गर्न पाउनु। न संगै बसेर खाना खान पाउनु। उनी माथी कोठामा। हामी तल्लो कोठामा। देखादेख हुन्छ। टाढा बसेर कुरा पनि हुन्छ। सुत्ने बेलामा दु:ख-सुखका कुरा, मायापीरतिका कुरा भाईवरमै गर्छौं । अनि राती “गूड नाइट” भनी छुट्टाछुट्टै कोठामा सुत्छौं। अनौठो नै भएको छ हालको जीवन, कथा जस्तो।
छोरा अझै सानै छ। १३ बर्ष लागेको छ। उनको आमासंगै लुट्पुटिने बानी अझै गएको छैन। तर उ पनि आमाको नजिक गएको छैन। कोरोना भाइरसको बारे उ पनि सचेत छ । ज्ञानी भएर परीक्षाको तैयारी गर्छ । बिहान “बाई मामा” भन्दै स्कुल जान्छ, परीक्षाको लागि। म आफनै काममा ब्यस्त हुन्छु। बिहानै निस्कन्छु।
सामान्यतया, हामीमध्ये कोही बिदेशमा जाँदा वा फर्किंदाको एक क्षण हामी आमा, छोरा र म सधैंभरी संगै एउटै अँगालोमा बाँधेर माया गर्थ्यौं। यसपाली त्यो पनि भएन। संगै बसेर बिदेश यात्राको बिषयमा गफ गर्थ्यों, त्यो पनि हुन पाएको छैन। संगै बसेर खाना खान पनि पाएको छैन। कतै कुनैबेला उनले खोकेको सुन्दा पनि झसंग भए झैं हुन्छ। अनि फोन गर्छु, “तिमीलाई ठिक त छ, हैन?” लामो यात्राबाट फर्केकी छाै। जिउ गलेको छ भन्दा पनि कसो कसो हुन्छ। त्यसैले होला, हाम्रो माया पहिले पहिले भन्दा पनि अझै झन बढेको जस्तो आभास हुन्छ। उनलाई केही भएको त छैन भन्ने पीर हुन्छ। उनी पनि समय समयमा कोठा बाहिर निस्केर हामीलाई चियाएर हेर्छिन्। दिउँसो एक्लै घाम ताप्छिन्। स्वच्छ हावामा श्वास फेर्न झ्याल खोलेर राख्छिन्।समय समयमा तातो पानी अनि पौष्टिक खाना सेवन गर्छिन्। उनले प्रयोग गरेको कुनै कुरा हामी छुँदैनो।
यो सेल्फ-क्वारेन्टाइन पिरिएड हो। अहिलेको अवस्थामा सेल्फ आईसोलेसनमा बस्नु उनको कर्तब्य हो। जुन उनले जिम्मेवारीपूर्वक निर्बाह गरिराखेकी छन। उनलाई केही हुँदैन र भएको छैन भन्ने पनि थाहा छ। तर पनि हामीले यसरी नै १४ दिन बिताउने निर्णय गरेका छौं । यो सजिलो छैन। तर हामीले गर्नै पर्छ। सचेतनाको निम्ति सरकारको पनि यस्तै उर्दी छ। चिकित्सकहरुको पनि यस्तै सल्लाह छ। अलिकति दु:ख त हुन्छ नै। अझै १० दिन यसरी नै बिताउन हामी बाध्य छौं। तर लाग्छ, यस्तो बेला हामी सबैले नागरिक जिम्मेवारी निर्वाह गर्नु हाम्रो कर्तब्य नै हो।
यो कुनै देशको कथा होइन। यो एक यथार्थ हो। आजभोली हामीहरु, सुम्निमा, म र छोरा संवादको दैनीकी यसरी नै चलिरहेको छ।

(मित्र डा. सरोज धितालसंग आज सेल्फ आइसोलेसनको अनुभूतिको बारेमा कुरा गर्दा उहाँले भन्नू भो, “यस्तो कुरा त लेख्नु पर्छ, समाजले थाहा पाउनु पर्छ भने पछि, हो त नी भनेर यो आफ्नै कथा पोष्ट गर्ने निर्णय गरेंको हुँ। सुम्निमासंग सल्लाह गरेको पनि छैन। आशा छ उहाँले अन्यथा लिनु हुने छैन) ।

(श्री गाैरी प्रधानज्यूकाे अनुमतीमा वहाँकाे फेपवुक वालवाट साभारः)

Facebook Comments